झापा: झापाको मेचीनगर नगरपालिका १२ धाइजनस्थित मेची राजमार्गबाट भन्सार छली गरेको लाखौं रुपैयाको लत्ताकपडा वरामद भएको छ ।

प्रहरीका अनुसार करीब ६० लाख ३१ हजार १ सय रुपैया बराबरको विभिन्न प्रकारका लत्ताकपडाहरु पिकअप भेनमा बरामद भएको हो । पिकअप भेन चालक मेचीनगर ७ का बिकास चन्द्र राजबंशी पनि पक्राउ परेका छन् । ठुलो परिणामको अबैध सामानहरु ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले चेकजाँच गर्दा उक्त परिणामको कपडा वरामद भएको हो ।

प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्दा गाडी भित्रबाट अबैध रुपमा ल्याएको विभिन्न प्रकारको लत्ताकपडाहरु बरामद भएको जनाएको छ । प्रहरीले बरामद गरिएको कपडा, चालक राजवंशी र पिकअपसमेत आवश्यक कारवाहीको लागी क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।