इटहरी: इटहरी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र सचेतना अभियान सुरु गरेको छ ।
उपमहानगरले पत्रकार सम्मेलन गरि इटहरी अस्पतालमा आज बिहिबारदेखि हेल्प डेक्स संचालनमा ल्याएको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा खाना पकाउने ग्याँसमा बढि मुल्य असुल्ने एक पसलमा सिल गरिएको जानकारी दिइन् । उनले उक्त पसलमा ताला लगाएर कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्न लागिएको पनि बताइन् । साथै उनले वजार अनुगमनलाई तिब्रता दिइने जानकारी पनि दिइन् । उपप्रमुख गोतमको नेतृत्वमा हिजो बुधबार इटहरीको ग्याँस र मेडिकलहरुमा अनुगमन गरिएको थियो ।
पत्रकार सम्मेलनमा उपप्रमुख लक्ष्मी गौतमले विहान सरोकारवालाहरुसँग वृहत अभिमुखिकरण तथा समन्वयात्मक वैठक सम्पन्न गरेको जानकारी दिइन् । वैठकमा प्रमुख द्धारिकलाल चौधरीले कोरोनाविरुद्ध उपमहानगरले सुरु गरेको अभियानमा साथ दिन सवै सरोकारवाला पक्षसँग आग्रह गरे । उपमेयर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार वैठकले विभिन्न सार्वजनिक ठाउँहरु, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु, शैक्षिक संस्था लगायतमा सावुन पानीले हात धुने कर्नर स्थापना गर्ने र सन्देशमुलक बोर्ड राख्ने निर्णय गरेको छ ।
उपमहानगरले सामुदायिक बिद्यालयहरुमा सूचनामुलक वोर्ड र थर्मामिटर उपलब्ध गराउने भएको उपप्रमुख गौतमले जानकारी दिइन् । विद्यालयका स्वास्थ्य शिक्षकहरुलाई तालिम दिएर विद्यार्थीहरुलाई सचेतना गराइने पनि उपमहागनरले जनाएको छ । उद्योग वाणिज्य संघ लगायतसँगको सहकार्यमा सरकारी स्वास्थ्य संस्थामा विरामीका लागि निःशुल्क माक्स विरतण गर्ने पनि उनले बताइन् ।
उपमहानगरले भिडभाड हुने कार्यक्रम, सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । हात मिलाउनुको साटो नमस्कार गर्न,साबुन पानीले पटक पटक हात धुन आग्रह समेत गरेको छ । कोरोना सम्बन्धि सचेतनाका लागि व्यानर ,पम्पप्लेट,ब्रोसर बितरण र बजार अनुगमन गरिनुका साथै टेलटोलमा माइकिङ भइरहेको समेत बताइएको छ । इटहरी अस्पतालका डाक्टर मनिश शर्माले कोरोना संक्रमण, लक्षण, अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी दिए ।