सुनसरी: इटहरी अस्पतालको सेवा स्तरोन्नतिका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।

इटहरी उपमहानगरद्धारा संचालित इटहरी क्षेत्रको एक मात्र सरकारी स्वामित्वको इटहरी अस्पतालको सेवा स्तरोन्नी र सुदृढीकरणको लागि सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई माग पत्र पेश गरिएको हो । आगामी बर्षको बजेट डेढ करोड छुटयाइदिन अनुरोध गरिएको छ । प्रदेश सांसद लिलम वस्नेतको नेतृत्वमा गएको टोलीले माग पत्र पेश गरेको हो । इटहरी अस्पतालको ईमर्जेन्सी ईन्चार्ज रामकुमार धमलाका अनुसार आगामी आर्थिक बर्षको वजेटमा अस्पतालको स्तरोन्नतीलार्ई समेट्न अनुरोध गरिएको छ ।

मन्त्री घिमिरेले अस्पतालको विकास र स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिने बताएको अस्पताल संचालक समितिका अध्यक्ष भुपेन्द्र वरालले वताए । कोरोना संक्रमणको अहिलेको अवस्थामा समेत इटहरी अस्पतालले कोभिड १९ को परीक्षण, फिभर क्लिनिक संचालन, क्वारेन्टाइन व्यवस्थापन,२४ घण्टा ईमर्जेन्सी र डेलिभरी सेवा लगायत स्वास्थ्य विमा सेवाहरु निरन्तर दिई रहेको छ । विरामीको चापलाई हेर्दा अस्पतालको स्तरोन्नती आवश्यक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मनिषकुमार शर्माले वताए ।

डेलिगेशनमा प्रदेश सासद लिलम वस्नेत, अस्पताल सचालक समिति अध्यक्ष भुपेन्द्र वराल, संचालक समिति सदस्य संजिव खड्का, अस्पतालको निमित्त सुपरिटेन्डेन्ट डा मनिषकुमार शर्मा र ईमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलाको सहभागी थिए । चालु आर्थिक बर्षमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट इटहरी अस्पताललाई औजार उपकरणसहित ३० लाख वजेट उपलब्ध भएको थियो । इटहरी अस्पतालमा गत साउन १५ गतेदेखि २४ सै घण्टा इमरजेन्सी सेवा समेत संचालित छ ।