धरान: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री राईको रिपोर्ट नेगेटिभ आएकोबारे मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव नवराज राईले पुष्टि गरे । ‘बजेट अधिवेशनको लागि मुख्यमन्त्री, मन्त्री, सांसदलगायत सबैको स्वाब संकलन गरिएको छ, आज मुख्यमन्त्री ज्यूको परिक्षण रिपोर्ट नेगेटिभ आयो,’प्रमुख स्वकिय सचिव राईले भने ।

मन्त्रीपरिषदको निर्णय अनुसार बजेट अधिवेशन जेठ १४ गतेको लागि आह्वान गरिएको छ । बजेट अधिवेशनकै लागि मुख्यमन्त्री, प्रदेश सभामुख, मन्त्रीहरु, प्रदेश सभाका सांसदहरुसँगै संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सवारी चालकहरुको पनि शुक्रबार स्वाब संकलन गरिएको थियो । कोरोना त्रासकै बीचमा संसद वैठकलाई व्यवस्थित र सामाजिक दुरी कायम हुने गरी अधिवेशन सञ्चालनको तयारी गरिएको छ ।