धरान: कोरोना महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले छिट्टै योजना ल्याउने भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन् । स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ’ सम्बोधनमा प्रधानमन्त्री ओलीले भने ।
भारतबाट घर फर्किनेहरुले सीमा पार गर्नुअघि विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार अनिवार्य परीक्षण नगर्दा समुदायस्तरमा महामारी फैलिएको पनि प्रधानमन्त्री ओलीको भनाई थियो । ‘सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो,तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ,’प्रधानमन्त्री ओलीले भने ।