धरान: ढुंगा, गिट्टी निकासी कर संकलन गर्न बसेका युवामाथि आक्रमण गरेको आरोपमा धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको भाईसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडाअध्यक्ष लिम्बुका कान्छा भाई दिपेश लिम्बु र अर्का अनित लिम्बु रहेका छन् । अनित वडाअध्यक्ष लिम्बुको कर्मचारी हुन् । यो घटनामा अध्यक्ष लिम्बु पनि मुछिएका छन् । राष्ट्रिय युवा संघ नेपालले प्रेस विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष लिम्बुकै निर्देशनमा आक्रमण भएको दाबी गर्दै हदैसम्मको कारबाहीको माग गरेको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले उक्त घटनामा २ जना पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘दुई जनालाई नियन्त्रणमा लिएका छौं, र घटनाबारे अनुसन्धान भइरहेको छ,’डिएसपी न्यौपानेले भने ।
घटना बुधबार राती ७ बजेतिरको हो । गिट्टी बोकेर आएको वडाअध्यक्ष लिम्बुको ट्रिपरले कर काट्न नमानेको बिषयमा विवाद भएको थियो । सोही विवादमा अध्यक्ष लिम्बुको संरक्षणमा भएका युवाहरुले धरान १५ बगरकोटस्थित भिन्टेज रिसोर्ट अघि आक्रमण गरेको घाइते सुमन धामीले बताए । उनका अनुसार सोही ठाउँमा बसेर खोलाको ढुंगा, गिटीलगायत ठेक्काको कर संकलन भइरहेको थियो । वडाअध्यक्ष लिम्बुको ट्रिपरले रोकेर पुर्जी पनि नकाटेपछि मोटरसाइकलमा पछ्याउदै गएर भिडियो पनि खिचेपछि अध्यक्षको भाञ्जा बुस्टनले अन्य केटाहरु बोलाएका थिए । त्यसपछि, पुर्जी काटेको पैसा पनि नलिई ती कर्मचारीहरु फर्किएको उनले बताए । ‘उनीहरु खोज्दै भिन्टेज निर आइपुगे । विवाद भयो, खुकुरी पनि झिक्यो,’घाइते धामीले भने,‘मलाई र मन्दिप राईलाई कुट्यो ।’
घाइते धामीका अनुसार मन्दिपलाई सामान्य चोट लागेको छ भने उनको टाउकोमा खुकुरीको दापले हिर्काएर चोट लागेको छ । यस्तै, ओठ फुटेको र एउटा दाँत पनि भाँचिएको छ । अध्यक्षका केटाहरुले पुर्जी काटेको पैसा ५२ हजार भन्दा बढी र पुर्जीसमेत भएको झोला पनि लुटेर लगेको धामीले बताए । आफुले वडाअध्यक्षसहित आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएपनि दर्ता गर्न नमानेको उनले बताए ।
यता, वडाअध्यक्ष लिम्बुले भने फुटबल खेल मैदान निर्माण गर्न केराबारीबाट ल्याएको गिटीको बिषयमा देवी गाउँस्थित कुलुङ चोकमा विवाद भएको बताए । उनले सेउतीबाट ल्याएको गिटी,ढुंगाको मात्र कर लिन पाउने भएपनि केराबारीको क्रसरबाट ल्याएको गिटीको पनि कर लिन खोज्दा विवाद भएको दाबी गरे । ‘सेउतीबाट ल्याएको भए पो पुर्जी काट्ने हो, त्यो त केराबारीको क्रसरबाट खेल मैदान बनाउन ल्याएको गिटी थियो,’वडाअध्यक्ष लिम्बुले भने,‘त्यसैमा विवाद भयो । उनीहरुले नै खुकुरी निकालेको हो । प्रहरीले मोटरसाइकल र तरबार पनि समातेको छ । तर मेरो भाई, र काम गर्नेलाई प्रहरीले लगेको छ ।’ घटनामा आफु संलग्न नभएको र गल्ती पनि नभएको भन्दै अध्यक्ष लिम्बुले आफुले पनि प्रहरीमा उजुरी दिएको बताए ।
अध्यक्ष लिम्बुमाथि अधेरी खोला अवैधरुपमा उत्खनन गरेर नदीजन्य पदार्थ बेचबिखन गर्ने गरेको आरोप लाग्दै आएको छ । खेल मैदानको लागि नदीजन्य पदार्थ उत्खनन् गर्ने भनेर अनुमति लिएर अन्यत्र बिक्री गरेको भन्दै केही दिनअघि उनको ट्रिपरले अन्यत्र सामग्री लगेको भिडियो भाइरल भएको थियो । तर, अध्यक्ष लिम्बुले भने वडामा निर्माणाधिन फुटबल मैदानको लागि मात्र प्रयोग भएको दाबी गरे । 'त्यो सबै झुटो कुरा हो । तपाई आएर पनि हेर्नसक्नु हुन्छ । फुटबल ग्राउण्डकै लागि हो,'उनले भने ।