विराटनगरः पछिल्लो दश महिनामा भित्र कोशी अस्पतालमा दुई मेडिकल सुपरिटेण्डेन (मेसु) हेरफेर गरिएको छ ।
तत्कालित मेसु डा. रोशन पोख्रेलको ठाउँमा डा. गुणराज लोहनी आएपछि कोशी अस्पतालको मुहार फेरिएको थियो । लोहनीको पुनः ५ महिना पछि सरुवा भएपछि सो रिक्त पदमा पुगेकी तत्कालिन गाइनो विभागकी विभागीय प्रमुख डा. संगीता मिश्रा फेरि ५ महिनामै सरुवा भएकी छिन् । उनलाई स्वास्थ्य मन्त्रालयले काठमाण्डौस्थित थापाथलीमा रहेको नेपालको एक मात्र प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेकाे छ । आधिकारीक पत्र प्राप्त नभएपनि आफुलाई कोशीबाट सरुवा गरिएको खबर आइसकेको मिश्राले जानकारी दिइन् ।
प्रदेश एकको कोरोना संक्रमणसँग जुध्न मिश्राले खेलेको भुमिका सबैले प्रशंसा गरेका छन् । प्रदेश एकको कोभिड विशेष अस्पताल बनाउन र सँक्रमित बिरामीसँग जुध्न आहोरात्र मेहेनत गरिरहेकी मिश्रालाई एकाएक सरुवा गरेको खबर प्राप्त भएपछि आफुु आश्चार्यमा परेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । उनले संघीय सरकारले समन्वय नगरी यस्तो कार्य गरेको भन्दै कोरोना सँक्रमणको जोखिममा जुध्न समस्या हुने तर्क गरे । ‘नयाँ मान्छे ल्याउँदा बुझ्नै समय लाग्छ,’घिमिरेले भने ‘यस्तो बेला सरुवाभन्दा समन्वय आवश्यक छ ।’
मिश्रा माघ पहिलाे साता काेशीकाे मेसुमा नियुक्त भएकी थिइन् । मिश्राको ठाउँमा सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालबाट डा. चुमनलाल दासलाई ल्याउने सरकारले निर्णय गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे एकल इन्टेस्टमा मिश्राकाे ठाउँमा दासलाइ ल्याउन लागिएकाे छ । विराटनगरमा विपन्न वर्गका नागरिककाे सेवा पाउने भरपर्दाे स्वास्थ्य केन्द्र रहेकाे काेशी अस्पताल अस्थिर हुँदा साना ठुला दर्जन बढी निजि स्वास्थ्य संस्थालाइ लाभ पुग्ने गरेकाे छ ।
विपतको बेला तीनै तहका सरकार एक आपसमा मिलेर काम गर्नुुपर्ने बेलामा व्यक्तिको स्वार्थबमोजिम स्वास्थ्य सँस्थाको कार्यकारी प्रमुख हेरफेर गर्न परिपाटीले सरकारी अस्पताल अस्थिर हुने र निजिले फस्टाउने मौका पाउने कोशीमा कार्यरत एक चिकित्सकले प्रतिक्रिया दिए । अञ्चलस्तरीय अस्पताललाई पहिले प्रदेशले सँचालन गर्ने अख्तियारी दिए पनि पछि सँंघीय सरकार मातहत लगिएको थियो । प्रदेश भित्रका अञ्चल तहका कोशी र मेचि अस्पताललाई प्रदेश मातहतमा ल्याउन प्रदेश सरकारले पहल गरिरहेको छ ।