धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरान उपमहानगरपालिका कमिटीले कार्यसमिति सदस्य संख्या विस्तार गरेको छ ।
आज बिहान बसेको पार्टीको कार्यालय बैठकले २ रिक्त पद र विधान वमोजिमको कमिटि सदस्यहरु मनोनित गरेको अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । बैठकले रिक्त पदमा जीवन भट्टराई र जसरथ थलङलाई मनोनित गरेको उनले बताए । यस्तै, उपमहानगर कमिटि सदस्यहरुमा राजकुमार राई, अब्बास अन्सारी मियाँ, शारदा थापा मगर, भुवनसिं बस्नेत, विकास चाम्लिङ, जीवन राईलगायतलाई मनोनित गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
पार्टी विधान अनुसार १० प्रतिशत सदस्य मनोनित गर्न पाउने प्रावधान अुनसार मनोनित गरिएको अध्यक्ष सुवेदीको भनाई छ । नेकपा धरान कमिटि १ सय १ सदस्यीय रहेको थियो । त्यसअनुसार १० जना सदस्य संख्या मनोनित गरिने सुवेदीले बताए । अझै केही सदस्य मनोनित गर्न बाँकी छ । बैठकमा पाँच सदस्यीय कार्यालयका अध्यक्ष सुवेदी, सचिव सुर्दशन श्रेष्ठ, मनोज भट्टराई, राजमणी निरौला र पारस काङमाङ राईसँगै नगर इञ्चार्ज चोत्लुङ र सहइञ्चार्ज पदम इस्वो लिम्बु पनि सहभागी थिए ।
अर्का नगर इञ्चार्ज बेघा असन्तुष्ट
कार्यालय बैठकको निर्णयहरुप्रति नेकपाका प्रदेश कमिटि सदस्य तथा नगर इञ्चार्ज अइन्द्रबिक्रम बेघाले भने असन्तुष्टी व्यक्त गरेका छन् । उनले बैठकबारे आफुलाई जानकारी नभएको बताए । उनले सामाजिक सञ्जाल फेसबकुमा पनि आधिकारिक निर्णय केही नभएको पोष्ट गरेका छन् ।
खास गरी सामाजिक सञ्जालहरुमा वडाको इञ्चार्ज तोकिएको भन्दै बधाई र शुभकामना आउन थालेपछि बेघाले आधिकारिक निर्णय नभएको पोष्ट गरेपछि नेकपाको बैठकप्रति चासो बढेको हो । बेघाले बैठक कहिले बस्यो भन्ने आफुलाई खबर र जानकारी नभएको बताए । ‘कहिले बैठक बस्यो भन्ने थाह छैन, निर्णयबारे पनि थाह छैन,’उनले भने । नेकपा अध्यक्ष सुवेदीले छलफलबाट नै टुंग्याउने बताए । ‘वडा इञ्चार्जहरुको जिम्मेवारीबारे पनि निर्णय भएको छ, यसलाई छलफलबाट नै टुंग्याउछौं,’ सुवेदीले भने ।
दुई जना इञ्चार्जको टकराव
नेकपा धरानको ईञ्चार्ज दुई जना छन् । एक जना जिल्ला कमिटिबाट तोकिएका फोक्वाहाङ सुब्बा(चोत्लुङ) हुन् भने अर्का १ नम्बर प्रदेश कमिटिबाट तोकिएका अइन्द्र बिक्रम बेघा हुन् । दुवै जना पुर्वमाओवादीका नेता हुन् ।
यसअघि पनि नगर कमिटिमा सचिव र सदस्यहरुको मनोनयनमा दुवै जनाको टकराव सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो । बेघा प्रदेश कमिटिमा छन् भने चोत्लुङ जिल्ला कमिटिमा छन् । चोत्लुङलाई जिल्ला कमिटिले धरानको इञ्चार्ज तोकेको थियो । पछि, प्रदेश कमिटि बैठकले बेघालाई पनि नगरको इञ्चार्जको जिम्मेवारी दिएपछि पुनः टकराव शुरु भएको नेताहरु नै बताउँछन् ।