धरान: कुवेतबाट फर्किएका धरानका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु कुवेतबाट फर्किए पछि धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनमा रहदै आएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

मेहताका अनुसार संक्रमण पुष्टि भएकामध्ये एक जना धरान ७ का ४३ बर्षीय महिला हुन् भने अर्की महिला धरान १७ की ३७ बर्षीय हुन् । उनीहरु कुवेतबाट जेठ २९ गते त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । त्यसपछि होल्डिङ एरिया हुदै एन्फा क्वारेन्टाइनमा जेठ ३२ गते आइपुगेका थिए । उनीहरुसहित कुल ४५ जनाको स्वाब शुक्रबार संकलन गरिएको थियो । त्यसमध्ये २ जना महिलाको पोजेटिभ आएको हो । नेगेटिभ रिपोर्ट आएका अन्यलाई क्वारेन्टाइनबाट आज डिस्चार्ज गरिएको थियो ।