धरान: नेकपा धरान २ नम्बर वडा कमिटिले चालु आर्थिक बर्ष २०७६/०७७ को बजेटको खर्चको हिसाब, किताब सार्वजनिक गर्न साथै आगामी बर्षको बजेटमा विभिन्न योजनाहरु समावेश गर्न माग गर्दै वडा कार्यालयमा माग पत्र पेश गरेको छ ।
आज वडा कमिटि अध्यक्ष रमेश राई, सचिव ज्ञानेन्द्र बस्नेतसहित नेकपाका नगरका नेताहरुको टोलीले वडा कार्यालयमा माग पत्र पेश गरेका हुन् । यस्तै, नेकपाले आगामी आर्थिक बर्षको बजेट तयारीको अन्तिम चरणमा रहेकोले वडाको विकास बजेट, सामाजिक क्षेत्रको बजेट र अन्य विभिन्न क्षेत्रको विकासको लागि वडाको सल्लाहकार, राजनैतिक पार्टी, सरोकारवाला संघसंस्था र टोल सुधार समितिसँग छलफल गरेर मात्र तयार गर्न पनि ध्यानाकर्षण गराएको छ । साथै, नेकपा वडा कमिटिले विभिन्न ८ वटा योजनाहरु पनि आगामी आर्थिक बर्षमा छनौट गरेर काम सम्पन्न गर्न सुझाव पनि दिएको छ ।
नेकपाका वडा अध्यक्ष राईका अनुसार ती योजनाहरुमा गोकुल मार्केटको बाटो पिच गर्न, गीता भवन लाइनको आधी बाटो पिच गर्न, भागवत रोड बीच र छुटेको स्लाप लगाउन, घण्टाघर उत्तर र पुर्वपटिको बाटो बनाउन माग गरिएको छ । यस्तै, लोकतान्त्रिक चौतारीको उत्तरमा रहेको खाली जग्गामा आरसिसि ढलाई गर्न, शान्तिपथ लाइन एकपटीको छुटेको स्यालब लगाउन, दोभान लाइनमा रेलिङ मर्मत गर्न तथा वृक्षारोपण गर्न र निकेतन माविमा बजेट व्यवस्था गर्न पनि माग गरिएको छ ।