विराटनगरः नेकपा सांसद कला घलेले आज प्रदेश एकको संसद बैठकमा कान थुनेर आफ्ना कुरा राखेकी छिन् ।
सत्तारूढ दल नेकपाकै सांसद रहेकी घलेले सरकारले आफ्ना कुरा नसुनेको भन्दै कान थुनेर शुन्य समयमा बोलेकी हुन् । अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेटमाथि बोल्ने क्रम जारी छ । सांसद घलेसहितका सांसदहरूले बजेटमा योजनाहरूको न्यायोचित वितरण नभएको भन्दै आक्रोस पोखिरहेका छन् ।
घलेले प्रदेश सरकार कामकाजी मात्र भएको हो भन्दै व्यङ्ग समेत गरिन् । 'प्रदेश एकको बजेट न्यायोचित भएन,'घलेले भनिन्,'मन्त्रीका क्षेत्रमा हुलका हुल योजना छ साँसदका क्षेत्रमा फाट्टफुट्ट मात्रै ।' उनले सरकारले गरेको असमान योजना वितरणबारे यो जुँगाको लडाइ हो ? भन्दै प्रश्न समेत गरिन् ।
घलेले सरकारका मन्त्रीहरूले सांसदहरूले बोलेको कुरा नसुनेको भन्दै कान थुन्न बाध्य भएको बताइन् । बजेटको बारेमा बोल्ने सांसदहरूले मन्त्रीहरूले एकलौटी गरेको, आफ्नो मात्र निर्वाचन क्षेत्रमा योजना बढि पारेको आरोप लगाउँदै आएका छन् । उनीहरूले संसदको शुन्य समयमा उठेका विषयहरू माथि विषयगत मन्त्रालयका मन्त्रीहरूले जवाफ नदिने गरेको गुनासोसमेत गर्दै आएका छन् ।