धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यकक्षमा लगाएको ताला प्रहरीले तोडेको छ ।

ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोली उपकुलपति कार्यालय पुगेर प्रहरीले ताला तोडेको हो । नेवि संघ र तरुण दल धरानले दिउँसो करिब साढे ३ बजेतिर प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालाबन्दी गरेको थियो । कोभिड १९ अस्पताल उद्घाटन गरेको ३ महिना बितिसक्दा पनि सञ्चालन नगरेको, कोरोना महामारीको समयमा उपकुलपति डा.ज्ञानेन्द्र गिरी पदाधिकारीहरु लिएर काठमाण्डौं बैठक गर्न गएको र कोरोना रोकथाम, उपचारप्रति गम्भीर नबनेको भन्दै संघ र तरुण दलले तालाबन्दी गरेको थियो ।

तालाबन्दी भएको करिब एक घण्टा पछि प्रहरीले ताला तोडेको हो । ताला तोडाउन प्रहरी निरीक्षक हेमराज ओली आफै उपकुलपति कार्यकक्ष पुगेका थिए । तरुण दलका नगर अध्यक्ष हिमाल श्रेष्ठले करिब ५ बजेतिर प्रहरीले ताला तोडेको जानकारी पाएको बताए । ‘हामीले माग राखेर ताला लगाएको हो, प्रहरी गएर तोडेछ,’उनले भने,‘थप के कदम चाल्ने भनेर बैठक बसेर निर्णय गछौं ।’