धरान: भदौ ८ गते नेपाल विद्यार्थी संघ र तरुण दल धरानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई भेटेर विभिन्न १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो ।
दुवै संगठनले त्यसअघि कोभिड अस्पताल सञ्चालनमा नआएको, लकडाउनको बेला सिनेट बैठक काठमाण्डौंमा राखिएको भन्दै तालाबन्दी र निरन्तर आन्दोलन पनि गरेको थियो । पछि दुवै संगठनले १९ बुँदे ज्ञापन पत्र बुझाउदै ५ दिनभित्र माग पुरा नगरे तालाबन्दीलगायत अन्य विरोधका कार्यक्रमहरु गर्ने चेतावनी पनि दिएको थियो । अल्टिमेटम दिएको समयसिमा भित्र नै प्रतिष्ठानले दुवै संगठनले उठाएको बुँदाहरुको प्रतिउत्तर पठाएको छ ।
भदौ १२ गतेको मितिमा प्रतिष्ठानले पठाएको पत्र हात पारेपछि आज दुवै संगठनले धरानमा रहेको पार्टीका सबै तहका नेताहरुसँग वृहत छलफलसमेत गरेको छ । उक्त छलफलले प्रतिष्ठानको ३ वटा बुँदाबाहेक अन्य सबै उत्तर चित्तबुझ्दो भएको निष्कर्ष निकालेको छ । ती बिषयहरुमा निरन्तर खबरदारी गरिरहने महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव एवं नेवि संघ नेता दोर्जी शेर्पाले जानकारी दिए । उनले भने,‘प्रायः सबै बुँदाको प्रतिउत्तर चित्तबुझ्दो नै थियो, तर ३ वटा बुँदामा अलिक चित्त बुझ्न सकेन । ती बिषयहरुमा निरन्तर खबरदारी गछौं ।’
यी हुन्, चित्त बुझ्दो नभएको ३ वटा बुँदा
शेर्पाका अनुसार धरानको छाताचोकस्थित पुरानो अस्पतालको जग्गालाई आयआर्जनको लागि लिजमा लगाउने भन्ने बुँदामा घुमाउरो पाराले जवाफ आएकोले निरन्तर खबरदारी गर्ने निर्णय भएको छ । प्रतिष्ठानले पठाएको जवाफमा २०५६ माघ २ गतेको सिनेट बैठकले नै प्रतिष्ठानलाई आत्मनिर्भरता बनाउन विविध प्रयोग गरी आय आर्जन गर्न सकिने भनि उल्लेख भएको जानकारी दिइएको छ । साथै, डा.शेखर कोइराला उपकुलपति भएको बेला २०५८ फागुन ४ गतेको २१ औं सिनेट बैठकले पनि पुरानो अस्पतालको जग्गा आयमुलक उपयुक्त व्यवसाय सञ्चालन गर्ने, गराउन बहुप्रयोजनीय व्यापारिक केन्द्र बनाउने निर्णय भएको उल्लेख छ ।
हालको ४४ औं सिनेट बैठकले पनि प्रतिष्ठानको स्वामित्वमा भएका जग्गा र चलअचल सम्पत्तिमा पुर्वाधार संरचना तथा सेवा क्षेत्रमा आवश्यकता अनुसार लगानीमैत्री वातावरण निर्माण गर्दै आर्थिक विकास र समृद्ध बनाउन सार्वजनिक नीति साझेदारी बन्ने परियोजनालाई व्यवस्थित गर्नलगायतको लागि नीति निर्माण गर्न विज्ञ सम्मिलित समिति गठनको अधिकार कार्यकारिणी समितिलाई दिएको उल्लेख छ । समितिमा स्थानीय सरोकारवालाहरुलाइ पनि मनोनजन गर्ने प्रतिवद्धता उपकुलपतिले जनाएका छन् ।
यस्तै, संगठनले उठाएको प्रतिष्ठानको रोजगारी र शिक्षामा स्थानीय धरानेहरुलाई आवश्यक कोटा उपलब्ध गराउनुपर्ने बिषयमा पनि चित्तबुझ्दो जवाफ नआएको शेर्पाले बताए । ‘रोजगारी र शिक्षामा संविधानको व्यवस्था वमोजिम भएको र प्रतिष्ठानको नियमावली अनुसार भएको भनेर धरानलाई कोटा दिन नसक्ने भन्ने घुमाउरो जवाफ आयो,’शेर्पाले भने,‘सुन्दर हरैचाको जग्गामा सरुवा रोग अस्पताल बनाउने भन्ने छ, तर पछि अरु कोही नेताको नाम दिनसक्ने पनि हुन्छ । यी बिषयहरुमा हामी निरन्तर खबरदारी गछौं ।’