धरान: कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले प्रक्रिया मिचेर सरुवा र जिम्मेवारीबाट हटाएकोप्रति कर्मचारीहरुले तीब्र असन्तुष्टी जनाएका छन् ।
प्रतिष्ठानस्थित कर्मचारी समन्वय समितिले हिजो मंगलबार प्रक्रिया मिचेर गरिएको सरुवाप्रति रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीलाई भेटेर असन्तुष्टी व्यक्त गरेको हो । आइसोलेसनमा बसेका उपकुलपति गिरीले प्रक्रिया विपरीत सरुवा गर्दा अस्थिर परिस्थिति उत्पन्न गरेको भन्दै कर्मचारीहरुले रजिष्ट्रार रेग्मीलाई असन्तुष्टी व्यक्त गर्दै व्यवस्थापनको ध्यानाकर्षणसमेत गराएका थिए । साथै, उनीहरुले प्रक्रिया मिचेर कुनै पनि काम कार्वाही अघि नबढाउन र पदाधिकारीहरु थप जिम्मेवार हुन ध्यानाकर्षण पनि गरिएको कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले जानकारी दिए ।
संयोजक राईका अनुसार कर्मचारी प्रशासनको प्रमुख रजिष्ट्रार हुन् । रष्ट्रिारको सिफारिशमा मात्र कर्मचारीको आन्तरिक सरुवा हुनुपर्छ । तर, केही दिनअघि भएको कर्मचारीहरुको सरुवा, जिम्मेवारीबाट अलग गर्ने निर्णय रजिष्ट्रार डा.रेग्मीको सिफारिश विना नै भएको पाइएको संयोजक राईले जानकारी दिए । ‘आन्तरिक सरुवाप्रति कर्मचारीहरुको भयंकर गुनासो छ भन्यौं, रजिष्ट्रार ज्युले मलाई थाह भएन, उपकुलपति आइसोलेसनबाट फर्किएपछि कुरा गर्छु भन्नुभयो,’संयोजक राईले भने,‘यो सरुवा पद्दती, प्रक्रिया मिचेर भएको छ, गम्भीर कुरा हो । यसले दीर्घकालिनरुपमा कस्तो असर पार्छ, त्यसमा पनि ध्यान जानुपर्छ भन्यौं ।’
संयोजक राईले २५ बर्ष काम गरेका कर्मचारीलाई सरुवा गर्न उपकुलपतिले १५ दिन पनि आइसोलेसनमा बस्न धैर्य गर्न नसक्नुमा आश्चर्य प्रकट गरे । कर्मचारीहरुले व्यवस्थापन पक्षले सही वा गलत के गर्यौं भनेर जिम्मेवारीपुर्वक स्वमुल्यांकन गर्नुपर्ने सुझाव पनि दिएका छन् । यो घटनाबारे सबै पक्षसँग निरन्तर छलफलमा रहेको र ठोस निर्णय भने लिन बाँकी रहेको संयोजक राईले बताए । ‘सबैको असन्तुष्टी छ, हामी नियमित छलफलमा नै छौं । सबै क्षेत्रसँग छलफल गरिसकेर के गर्ने भन्ने निर्णय हुन्छ,’उनले भने ।
रजिष्ट्रारसँगको भेटमा नियमित तलब उपलब्ध गराउन, सेवा समुह अन्तर्गत नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाउन, कोरोना भत्ता तत्काल वितरण गर्न, ४, ५ बर्षदेखि ज्यालादारी कर्मचारीकोरुपमा कार्यरत कर्मचारीहरुको हकमा कार्यविधि बनाएर तत्काल करार सेवामा नियुक्त गर्न पनि कर्मचारीहरुले अनुरोध गरेका छन् । साथै, प्रतिष्ठानको स्रोत साधनको भरपुर सदुपयोग गर्न र कसैले दुरुपयोग गरे त्यसमा रोक लगाउन पनि कर्मचारीहरुले अनुरोध गरेका छन् ।
प्रतिष्ठानका उपकुलपति डा.गिरी कोरोना संक्रमण भएर आइसोलेसनमा छन् । तर, यही बीचमा उनले खरिद शाखा प्रमुख एवं मुल्यांकन समितिका सदस्य सचिव विष्णु चापागाईलगायत कर्मचारीहरुलाई सरुवा गरेका छन् । आइसोलेसनमा बसेका व्यक्तिले हस्ताक्षर गरेको सरुवा पत्र बाहिर आएकोमा पनि थुप्रै आशंकाहरु उब्जिएका छन् । उपकुलपतिले सिभिल इञ्जिनियरिंग शाखाका प्रमुख मदन साहलाई पनि जिम्मेवारीबाट हटाएर सबओभरसियरलाई प्रमुख बनाएका छन् ।