धरान: धेरै संख्यामा स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिए पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो विभाग अन्तर्गतको पोष्टनेटल वार्डमा नयाँ सुत्केरी विरामी राख्न बन्द गरिएको छ ।

नयाँ सुत्केरी र बच्चालाई संक्रमण हुने जोखिम भएकोले विभागले पोष्टनेटल वार्डमा राख्न रोकेको हो । विभागका अनुसार पोष्टनेटल वार्डमा कार्यरत आधा दर्जन स्वास्थ्यकर्मीमा तीन दिनअघि संक्रमण देखिएको थियो भने अन्यमा पनि लक्षणहरु देखिएको छ । त्यसैले विभागले हिजोदेखि उक्त वार्डलाई सिल गरेको हो तर, औपचारिकरुपमा विभागले भने सिल गरेको भनेको छैन ।

गाइनो विभागका निमित्त प्रमुख डा. पप्पु रिजालले इर्मजेन्सी डेलिभरी वा अप्रेसन गर्नुपर्ने गर्भवती महिलालाई मात्र भर्ना लिइरहेको बताए । ‘धेरै नै विरामीको चाप पनि छ, यस्तो बेला संक्रमणको जोखिम अझै धेरै हुन्छ । त्यसैले व्यथा लागेको, रगत बगेको, इर्मजेन्सी अप्रेसन गर्नुपर्ने अवस्थाकालाई रोकेको छैनौं,’डा.रिजालले भने,‘अरुबेला गाउँघरमा नै चेकअप गर्ने र डेलिभरी समय भएपछि यहाँ आउने धेरै छन् ।’

डा.रिजालका अनुसार पोष्टनेटल वार्डमा भएका सुत्केरी र बच्चाहरु सबै डिस्चार्ज भएर वार्ड खाली भएपछि निर्मलीकरण(सेनिटाइज) गरिनेछ । अनि मात्र नयाँ सुत्केरीहरुलाई भर्ना गरेर उक्त वार्डमा राखिनेछ । ‘बच्चा र आमा छन्, तत्काल त्यो गर्दा उनीहरुलाई असर पुग्छ । आज भोलीमा वार्ड खाली हुन्छ, र आइतबार बिहानदेखि वार्ड पुनः सञ्चालनमा आउछ,’उनले भने ।

अहिले इर्मजेन्सी डेलिभरी भइरहेका महिला र बच्चालाई गाइनो वार्डमा राख्ने गरिएको छ । अन्य स्वास्थ्य संस्थाहरुले सामान्य समस्यामा पनि रिफर गरिहाल्ने गरेकोले वीपीको गाइनो विभागमा विरामीको असाध्यै चाप छ । वार्डमा मात्र नभएर एक जना विरामीको ४, ५ जना कुरुवा आफन्तहरु साथमा आउने भएकोले बाहिर(परिसर)मा पनि मानिसहरुको भिड हुने भएकोले संक्रमणको जोखिम उतिकै छ ।