धरान: सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेको खुसियालीमा आज नेपाली कांग्रेसले धरानमा दिप प्रज्वलन गरेको छ ।
आज बुधबार साँझ धरानको भानुचोकमा कांग्रेसको १ नम्बर क्षेत्रीय समितिले दिप प्रज्वलन गरेर खुशी मनाएको हो । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् । त्यसविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलाशले हिजो मंगलबार फैसला सुनाउदै विघटन वदर गरिदिएको थियो । विघटनविरुद्ध आन्दोलनरत कांग्रेसले जनताको जित भएको भन्दै निर्णयको स्वागत गर्दै दिपावली गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस धरान उपमहानगर कमिटी सभापति एवं धरानका मेयर तिलक राईले पार्टीको झगडालाई मिलाउन नसकेर असंवैधानिकरुपमा संसद विघटन गर्नु गलत भएको कांग्रेसले तत्कालै ठहर गरिसकेको र देशव्यापीरुपमा विरोधसभाहरु गरेको बताए । नेकपा र उसको सरकारले विडम्बनापुर्ण कार्यहरु गरेको उनले बताए । जनचाहना विपरीत विधेयकहरु ल्याएको र निर्णयहरु गरेको भन्दै मेयर राईले नेकपा सरकारले मुलुकलाई गलत बाटोमा हिडाएको बताए । अहिलेको सरकार निरंकुश र सर्वसत्तावादतर्फ हिडेको पनि उनले बताए ।
अदालतको फैसलाले संवैधानिक सर्वोच्चता र कानुनको राज छ भन्ने प्रमाणित गरेको भन्दै देशबासीको पक्षमा फैसला आएको बताए । कांग्रेसले शुरुवातदेखि नै संसद विघटनको पक्षमा नभएकोले नै देशव्यापीरुपमा आन्दोलन गरेको बताए । अब मुलुकलाई राजनीतिक स्थिरता, अमन चयन र न्याय दिने काम संसदहरुको भएको पनि उनले बताए । उनले १ नम्बर प्रदेश र ३ नम्बर प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार स्थापना हुनुपर्ने उनले बताए ।