धरान: नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) सुनसरी र समाजसेवी सुश्री शिव वान्तावा राईबीच पत्रकारिता पुरस्कार स्थापना गर्ने विषयमा सहमति भएको छ ।
समाजसेवी वान्तावाले यसै वर्षदेखि वितरण हुने गरि आप्mना स्वर्गीय आमा बुबाको नाममा पत्रकारिता पुरस्कार राख्ने सो सहमति भएको हो । फोनिजको तर्फबाट गठन गरिएको तीन सदस्यीय समितिका संयोजक जनकऋषि राईका अनुसार प्रत्येक वर्ष दिइने उक्त पुरस्कारको नाम विष्णुमाया–लालबहादुर राई स्मृति पत्रकारिता रहनेछ । सहमति पत्रमा हस्ताक्षर गर्दै वान्तावाले आफ्नो आमा बुबा विष्णुमाया–लालबहादुर राई स्मृति पत्रकारिता पुरस्कारकोलागि ५१ हजार रुपैयाँ बराबरको वार्षिक ब्याजलाई पुरस्कार स्वरुप प्रदान गर्ने जानकारी दिइन् । तत्कालको लागी अक्षयकोष नभए पनि भविष्यमा अक्षय कोष बनाउने सोच रहेको बान्तावाले बताइन् ।
सहमतिमा उक्त पुरस्कार प्रत्येक पाँच वर्षमा नविकरण तथा समीक्षा गर्नु पर्ने उल्लेख गरिएको छ । समितिका संयोजक राईकाअनुसार पुरस्कार स्थापनाले आदिवासी जनजातिको विषयमा कलम चलाउने पत्रकारहरुलाई उत्साह थपिने र पत्रकारितामा आदिवासीका सवालहरु स्थापित बन्दै जाने बताए । समितिका सदस्यमा सविना वान्तावा राई र कुशल कुरुङम्बाङ रहेका छन् । फोनिज सुनसरीसँग विष्णुमाया–लालबहादुर राई स्मृति पत्रकारिता र प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार गरि दुई पुरस्कार भएको छ ।