मोरङ: जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित तीन वटा स्थानय तहका सबै वडामा शनिबार मध्यरातीदेखि एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । अर्को एक स्थानीय तहमा भने ४ वटा वडामा मात्र निषेधाज्ञा जारी गरिएको छ ।
कोराना संक्रमण तीब्रदरमा वृद्धि भइरहेको भन्दै मोरङ प्रशासनले विराटनगर महानगरको सबै वडा, बुढीगंगा गाउँपालिकाको सबै वडा र जहदा गाउँपालिकाको सबै वडामा निषेधाज्ञा जारी गरेको हो । यस्तै, कटहरी गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा पनि निषेधाज्ञा जारी गरेको मोरङ प्रशासनले जनाएको छ । निषेधाज्ञा बैशाख १८ गते मध्यरातीदेखि २६ गते मध्यरातीसम्मको लागि हो ।
यो अवधिमा औषधी, खाद्य बस्तु तथा अत्याश्यक बस्तु वा सेवा खरिदबाहेक कोही पनि घरबाहिर निस्कन नपाउने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार खाद्यबस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध, डेरीलगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल, व्यवसायहरु बिहान १० बजेसम्म मात्र खोल्न पाइनेछ । निर्माण सामग्रीका पसल र निर्माण सामग्री ओसारपसार बिहान १० बजेसम्म गरिसक्नुपर्नेछ । जिल्ला भरि जुनसुकै स्थानमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न नपाइने पनि मोरङ प्रशासनले जनाएको छ ।