धरान: संसद विघटनको विरुद्धमा विपक्षी दलहरुले धरानमा संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पाटी र संघीय लिम्बूवान परिषद्ले संयुक्त रुपमा धारनमा प्रर्दशन गरेको हो । धरान ७ मा रहेको जनता समाजवादीको पार्टी कार्यालयबाट संयुक्तरुपमा विरोध र्याली निस्किएको थियो । उक्त र्याली भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोरोना संक्रमण उच्च दरमा बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्म लकडाउन गरेको छ । सर्वसाधारणहरु घरबाट बाहिर हिडडुल गर्न पाएका छैनन । विपक्षी दलहरुले भने लकडाउनकै बीचमा धरानमा विरोध प्रर्दशन गरेको हो । 

sansad-birudh

भानुचौकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएका थिए । विरोधसभामा नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र गोले तामाङ र माओवादीका नेता सुदर्शन श्रेष्ठले सम्बोधन गरेका थिए । कांग्रेस सचिव तामाङले कोभिडको महामारीबाट जनता आक्रान्त बनिरहेको बेला राहत र स्वास्थ्य सेवालाई सुलभ प्रभावकारी बनाउनुपर्नेमा सरकार शक्ति र सत्ताको खेलमा लागेको बताए ।

विदेशी शक्तिहरुको आडमा मुलुकलाई अन्धकारतर्फ धकेलेको उनको भनाई थियो । उनले राष्ट्रपतिको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको दाबी गरे । सर्वोच्च अदालतले जनता र संविधानको पक्षमा फैसला गर्नुपर्ने धारणा राख्दै उनले संसदको पुर्नस्थापना नभएसम्म विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने पनि बताए ।