धरान: कहिले भाडामा, कहिले नेताले उपलब्ध गराएको घरको कोठामा सञ्चालन हुँदै आएको नेपाली कांग्रेस धरान उपमहानगरको कार्यालय अब भने आफनै स्वामित्वको भवनमा हुनेछ ।

कांग्रेस धरानले वाड नं २ मा आफ्नै स्वामित्वको जग्गामा तीन तले पार्टी कार्यालय निर्माण गरेको छ । भवन निर्माण कार्य सम्पन्न भएर हाल आन्तरिक सजावटको काम भइरहेको कांग्रेसले जनाएको छ । कांग्रेसलाई कार्यालयको लागि भवन बनाउन वडा नं १८ की निवार्चित महिला सदस्य दिलकुमारी राईले धरान १७ मा २५ धुर जग्गा निःशुल्क दिएकी थिइन् । उक्त ठाउँ अपायक भएको कुरा उठेपछि वडा नं २ मा भएको दाता राईकै ५ धुर जग्गामा भवन निर्माण गरिएको पार्टी सभापति एवं मेयर तिलक राईले जानकारी दिए । 

वडा नं. २ को ५ धुर जग्गा पनि दाता एवं महिला नेतृ राईकै हो । वडा नं. १७ को जग्गा उनैलाई फिर्ता गरेर वडा २ को ५ धुर जग्गामा कार्यालय भवन बनाइएको हो । उक्त भवनको नाम बलबहादुर राई/भिमबहादुर तामाङ स्मृति प्रतिष्ठान राखिएको छ । पार्टी कार्यालय भवन बनाउन करिब ५० लाख खर्च भएको मेयर राईले बताए । 

धरानमा कांग्रेसको १२ औं महाधिवेशनमा १४ सय क्रियाशिल रहेको थियो भने १३ औं मा ३३ सय क्रियाशिल सदस्य रहेको थियो । १४ औं महाधिवेशन सम्म आईपुग्दा ४७ सय क्रियाशिल सदस्यता पुगेको कांग्रेस धरानका सचिव श्याम पोखरेलले बताए । मेयर राई २०७४ सालको निर्वाचनमा पराजित भएपनि उपनिर्वाचनबाट मेयरमा चुनिदै बामपन्थीहरुको किल्ला भत्काएका थिए । अहिले धरानका कांग्रेस नेता, कार्यकर्ताहरुलाई पनि महाधिवेन लागिसकेको छ ।