धरान: नेकपा एमालेको १० औं महाधिवेशनको लागी प्रतिनिधि चयन गर्न सुनसरीको पुर्वघोषित मतदानको तालिका परिवर्तन भएको छ । 

सोमबार एमाले जिल्ला पार्टी कार्यालय बैठकले प्रतिनिधि चयनको मतदान तालिका परिवर्तन गरेको हो । यसअघि प्रतिनिधि छनौटको लागी मंगलबार मतदान गर्ने कार्यतालिका थियो । सोमबार दिउँसो ४ बजेसम्म नाम फिर्ता लिएर अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका थियो । तर, सर्वसम्मत प्रतिनिधि छनौट गर्नको लागि पहल गर्न मतदानको कार्यतालिका परिवर्तन गरिएको एमाले जिल्ला अधिवेशन आयोजक कमिटीका सदस्य रवि खनालले जानकारी दिए । 

उनका अनुसार मतदान गर्ने कार्यतालिका मंसिर ३ गतेलाई सारिएको छ । सर्वसम्मत प्रतिनिधि छनौट गर्नको लागि समय सारिएको उनले बताए । ‘सुनसरी क्षेत्र नं २ मा सर्वसम्मत प्रतिनिधि चयन गर्ने भनेर उम्मेदवारी दिएका सबै ४१ जनाले नै नाम फिर्ता लिएका छन्,’युवा नेता खनालले भने,‘क्षेत्र नं ४ मा पनि सहमति गर्ने पहल हुदैछ । क्षेत्र १ र ३ मा सहमतिको प्रयासमा नेताहरु कसरतमा छन् ।’ सुनसरीमा कुल ४२ जन प्रतिनिधिको कोटामा चार गुणा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।