धरान: नेकपा एमालेको आसन्न १० औं महाधिवेशनको लागी प्रतिनिधि छनौटमा सुनसरी जिल्लाको वटा क्षेत्र मध्ये ३ वटामा सहमति भएको छ भने सुनसरी क्षेत्र नं १ मा प्रतिनिधि चयन हुन बाँकी छ । 

एमाले सुनसरी जिल्ला कमिटीका अनुसार निर्वाचन क्षेत्र नं २, क्षेत्र नं ३ र क्षेत्र नं ४ मा सहमतिमा प्रतिनिधि चयन भएको हो । क्षेत्र नं १ मा र दलित कोटाको प्रतिनिधिमा सहमति हुन बाँकी रहेको छ । जिल्ला निर्वाचन सहयोग समितिका संयोजक शिवराज चौहानका अनुसार क्षेत्र नं २ मा खुलातर्फ ८ जना र महिलातर्फ ३ जना प्रतिनिधिमा सहमति भएको हो । खुलातर्फ खेमराज पोखरेल, रेवतीरमण भण्डारी, सर्वध्वज साँवा, पोष्टकुमार नेपाल, सरोज पोखरेल, पर्शुराम यादव, गुणराज काफ्ले र द्धारिकलाल चौधरी चयन भएका छन् भने महिलातर्फ लक्ष्मी गौतम, अमृता सुब्बा र निरा खनाल चयन भएका छन् ।

यसैगरि, क्षेत्र नं ३ मा खुलातर्फ लिलम बस्नेत, भिम सुवेदी (सागर), भुवन पोखरेल, भुमीनारायण चौधरी, खड्ग नारायण उराँव र रामदेव यावद प्रतिनिधिमा चयन भएका छन् भने महिलातर्फ निर्मला काफ्ले, सुजला गुरुङ र दुर्गी सरदर रहेकी छिन् । क्षेत्र नं ४ मा खुलातर्फ निलम खनाल, बद्रीनाथ घिमिरे, कालुराम गुरुङ, ललितबहादुर थापा, लस्करी अन्सारी र अजय कुसियैत महाधिवेशनमा प्रतिनिधि चयन भएका छन् भने महिलातर्फ कौशिल्या माझी, शकुन्तला भण्डारी र होमकुमारी श्रेष्ठ चयन भएकी छिन् ।

क्षेत्र नं १ र दलितमा रस्साकस्सी

३ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएपनि क्षेत्र नं १ र दलिततर्फको प्रतिनिधि चयनमा सहमति जुट्न बाँकी छ । यो समाचार तयार पार्दासम्म क्षेत्र नं १ को ९ जना र दलितको एक महिला, ३ खुल्लातर्फको प्रतिनिधि चयन हुन बाँकी छ ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवार तथा नेताहरु सहमतिमा प्रतिनिधि पठाउन निरन्तर छलफलमा जुटिरहेका छन् । हिजो बिहिबार क्षेत्र नं १ को प्रतिनिधिबारे धरानमा भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि जिल्ला कमिटीलाई नै निर्णय गर्ने जिम्मा दिइएको थियो ।