धरान: किरात राई यायोक्खा धरान उपमहानगर कार्यसमितिको तेस्रो नगर अधिवेशन शुरु भएको छ ।
धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवनमा अधिवेशन शुरु भएको हो । अधिवेशनको उद्घाटन प्रमुख अतिथि एवं यायोक्खा सुनसरी जिल्ला कार्यसमिति अध्यक्ष वलराम राईले दिप प्रज्वलन तथा हाङ यलम्बरको सालिकमा माल्र्यापण गरेर भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले आफ्नो समुदाय छोडेर कोही पनि बाहिर जान नसक्ने बताए । उनले एउटा व्यक्तिले राजनीतिक विचार र आस्था, धर्म परिवर्तन गर्न सके पनि जात परिवर्तन गर्न नसक्ने बताए । ‘राईमा आस्था नभए कहाँ जाने ? त्यसैले सबैभन्दा पहिला जुनसुकै समुदायको हौं, पहिलो घर आफ्नो समुदाय हो । यसबारे सचेत हुनपर्छ, सचेत भएर नै हो अहिले जातीय संस्थाप्रति आकर्षण बढेको छ,’ उनले भने ।
भाषा, धर्म, सँस्कृति संरक्षण मातृ संस्थाबाट मात्र सम्भव नभएको कारण भाषिक संस्थाहरु गठन भएको उल्लेख गर्दै केही भाषिक संस्थाहरुले आफु राई नभएको दाबी गरेपनि भविष्यमा मातृ संस्थामा आउन बाध्य हुने बताए । उनले भने,‘केही भाषिक संस्थाहरु हामी राई होइनौ, कुलुङ, खालिङ, मेवाहाङ, वान्तावा हौ भनेर लागिरहनु भएको छ । तर समय काल पछि भोलीको दिनमा उहाँहरु बाध्य भएर आउनु हुनेछ,’जिल्ला अध्यक्ष राईले भने,‘अहिलेको बुझाई, आफ्नो विचारलाई भोली संस्थागतरुपमा मेल नखाए पछि आफ्नो बुझाई आफैमा सिमित राखेर सिंगो झण्डामुनि आउन बाध्य हुनेछ । आफ्नो समुदायबाट टाढा जान सकिदैन ।’
भिडियो:
उनले भाषिक संस्थाहरु सबैभन्दा बलियो भएर आउनुपर्ने धारणा राख्दै भाषा संरक्षणमा जोडदिनुपर्ने बताए । विविध कारणले भाषाहरु गाउँघरमा पनि लोप हुदै गइरहेको उल्लेख गर्दै राईले स्कुलहरुमा पनि भाषा पठनपाठन शुरु गर्न पहल गर्नुपर्ने बताए । उनले भने,‘राष्ट्रिय जनगणनाको बेला मात्र मातृ भाषा लेखाउने अभियान गर्ने होइन, अन्य बेला पनि अभियान निरन्तरता गर्नुपर्छ ।’ उद्घाटन समारोहलाई किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष रामकर राई, आदिबासी जनजाति महासंघ धरान कार्य समितिका सचिव हेमराज जिमीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्वर्गीय उपाध्यक्ष सन्तकुमार राईलाई सम्मान
नगर अध्यक्ष लोकेन्द्र राईको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा कार्यक्रममा असामयिक निधन भएका उपाध्यक्ष सन्तकुमार राई (सन्तोष)लाई सम्मान गरिएको थियो । सम्मान पत्र प्रमुख अतिथि एवं यायोक्खा सुनसरीका अध्यक्ष वलराम राईले मृतक राईकी श्रीमति शान्ता राईलाई हस्तान्तरण गरेका थिए।
उपाध्यक्ष राईको गत साउन ३ गते निधन भएको थियो । उनी यायोक्खा नगर तदर्थ समितिको सचिव हुदै वर्तमान कार्यसमितिको उपाध्यक्ष थिए भने आदिबासी जनजाति महासंघ धरान उपमहागर कार्यसमितिको सचिव पनि थिए । अधिवेशनमा विभिन्न प्रारम्भिक कार्यसमिति, भाषिक संघसंस्थाहरुबाट गरि ४५ भन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । अधिवेशनले आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
भिडियो: