धरान: राजतन्त्र र हिन्दु राज्य मुख्य एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापालाई २ सय मत अन्तरले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । लिङ्देनले १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी भए । पराजित भएका थापाले १ हजार ६ सय १७ मत मात्र पाएका छन् । अध्यक्षमा ४३१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा विजयी लिङ्देन झापा क्षेत्रबाट निवार्चित एक मात्र सांसद हुन् । पराजित थापाले आफ्नो पराजय स्वीकार गरेका छन् । तर, उनले निर्मल निवासबाट नांगो हस्तक्षेप भएको भन्दै पुर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोश पनि पोखेका छन् । उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिडेको पुरस्कार अहिले पाएको भन्दै गुनासो पनि गरेका छन् ।
अध्यक्षमा थापाको हार भएपनि पदाधिकारीमा भने उनी पक्षका अधिकांश पदाधिकारीहरुले जितेका छन् । चार उपाध्यक्षमध्ये तीन जना थापा प्यानलका विजयी भएका छन् । दुबै प्यानलमा समेटिएका विक्रम पाण्डेले सर्वाधिक २५२१ मत पाएर विजयी भए। थापा प्यानलबाट बुद्धिमान तामाङले १९४४ मत र ध्रुवबहादुर प्रधानले १८१४ मत ल्याएर उपाध्यक्षमा विजयी भए। महिला उपाध्यक्षमा पनि कमल थापा प्यानलकै रोशन कार्की १५८९ भोट ल्याएर विजयी भइन्।
तीन महामन्त्रीको प्रतिस्पर्धामा लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन्। अन्य दुई महामन्त्रीमा थापा प्यानलका भुवन पाठक १७०५ भोट र महिला महामन्त्रीमा थापा प्यानलकै कुन्तीकुमारी शाही २००८ मत ल्याएर विजयी भइन् । महिला महामन्त्रीमा शाहीले लिङ्देन प्यानलबाट उठेकी चर्चित अभिनेत्री रेखा थापालाई पराजित गरिन् । थापाले १६४० मत मात्र ल्याएर हारिन् ।