विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को प्रथम अधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई समर्थकहरुको घरमा राख्ने भएको छ ।
अधिवेशनलाई नीति प्रधान बनाउने घोषणा गर्दै माओवादी केन्द्रले प्रतिनिधिहरुलाई होटलमा नराख्ने जनाएको हो । प्रदेश अधिवेशनबारे बिराटनगरमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ माओवादी केन्द्रका इन्चार्ज राम कार्कीले प्रदेश १ का करिब १ हजार १ सय बढी प्रतिनिधिलाई कार्यकर्ता, समर्थक र आफन्तको घरमा राख्ने बताए । माओवादी केन्द्रको प्रदेश १ अधिवेशन यही मंसिर २५ र २६ गते मोरङको विराटचोकमा हुदैछ ।
नेता कार्कीले प्रतिनिधिहरुलाई पार्टीले दुई छाक सादा खानाको व्यवस्था गरेको बताए । साथै, चिया विस्कुट खुवाउने र कार्यकर्ता, समर्थक तथा आफन्तको घरमा राख्ने व्यवस्था गरेको पनि उनले जानकारी दिए । इन्चार्ज कार्कीले अन्य पार्टीले विचार, नीति निर्माणमा भन्दा नेतृत्वमा जोड दिएको भन्दै आफ्नो पार्टीले नीतिलाई प्रधानता दिएको बताए । ‘लाखौंको मञ्च बनाएर, करोडौं खर्च गरेर मानिस भेला पारेर देखावटी अधिवेशन र सम्मेलन गर्दैनौं,’ कार्कीले भने,‘हामी विचार निर्माणमा जोड दिने गरी अधिवेशनलाई केन्द्रीत गरेका छौं ।’
गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्र स्थापनामा माओवादीले नेतृत्वदायी भूमिका खेलेको भन्दै कार्कीले आगामि दिनमा प्रत्येक जनताको घर, गाउँ र समुदायमा गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रको अनुभूति दिने कार्यदिशा तय गर्ने गरी अधिवेशन केन्द्रीत हुने बताए ।
प्रदेश सचिव हेमराज भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै प्रदेशको अधिवेशन एकै पटक हुने भएकाले संयुक्त रुपमा भर्चुअल माध्यमबाट सम्बोधन गर्ने जानकारी दिए । प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् ।
पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ । अधिवेशनबाट २५९ सदस्यीय समिति निर्माण हुने जनाइएको छ ।