विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानव अधिकार शुक्ष्म विषय भएको बताएका छन् । साथै उनले हरेक व्यक्तिले गर्ने व्यवहारमा मानव अधिकार जोडिएको धारणा राखे ।
७३ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुक्रबार विराटनगरमा मानव अधिकार सञ्जाल, इन्सेक, मानव अधिकार रक्षक परिषद् लगायतका संस्थाहरुद्धारा आयोजित कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले मानव अधिकार क्षेत्रको विकासका लागि आफ्नो साथ सहयोग निरन्तर रहने बताए । मानव अधिकारको क्षेत्रमा लागेको संघ–संस्थालाई प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग हुने मन्त्री यादवले बताए ।
उनले प्रदेश १ लाई मानव अधिकार मैत्री बनाउन चाहेको पनि बताए । मन्त्री यादवले भने,‘ कुनैपनि नागरिक पीडित हुनु नपरोस् भन्ने मेरो चाहना छ, तपाईहरुले यसमा मलाई सल्लाह दिनुस् ।’ सामाजिक विकास मन्त्री यादवले मधेश आन्दोलनमा मानव अधिकारकर्मीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । उनले आन्दोलनको समयमा आफु सँधै मानव अधिकारकर्मीहरुसँग संवादमा रहने गरेको पनि स्मरण गरेका थिए । कार्यक्रममा मन्त्री यादवले लामो समय देखि मानव अधिकारको क्षेत्रमा योगदान पुरयाएका अधिकारकर्मी दिनेश श्रेष्ठ र सञ्जु साहलाई सम्मान पनि गरेका थिए ।