धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इसाई धर्मावलम्बीहरूको मुख्य चाड क्रिसमसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

मुख्यमन्त्री राईले एक शुभकामना सन्देश जारी गर्दै प्रदेश नं. १ सहित देश, विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश भएको उल्लेख गर्दै नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने पनि विश्वास व्यक्त गरेका छन् । साथै, मुख्यमन्त्री राईले जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न र सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा पनि व्यक्त गरेका छन् । 

इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । यस पर्वका अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन गर्ने, आपसमा प्रेम प्रकट गर्ने र शुभकामना तथा उपहार आदानप्रदान गर्ने परम्परा छ ।

नेपालको संविधानले नेपाललाई बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको रुपमा स्वीकारे गरेकाले एकातिर आ–आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति, रीति–रिवाज मान्न पाउने अधिकार र स्वतन्त्रता सुरक्षित छ भने अर्कोतिर सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्यको र सबै नेपालीको साझा दायित्व र कर्तव्य भएको पनि मुख्यमन्त्री राईको शुभकामना सन्देशमा उल्लेख छ ।