धरान: नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति सुनसरीको तेस्रो अधिवेशनले नविन गुरुङ (गुरुङ सोल्टी)को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
सोमबार रामधुनी नगरपालिकास्थित थारु संग्रहालयको सभा हलमा आयोजित बन्दसत्रले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । बन्दसत्रले कार्यसमितिको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुम्निमा चाम्लिङ, सहसचिवमा एलन गच्छदार र कोषाध्यक्षमा राजकुमारी चौधरीलाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरि, कार्यसमिति सदस्यमा बसन्त वान्ताव राई, मौसमी लिम्बु, विश्व राई, रश्मी प्रधान, स्वर्णिम फोम्बो र कमला चौधरीलाई पनि सर्वसम्मत चयन गरेको छ । बाँकी रहेका २ सदस्य चयन गर्ने अधिकार कार्यसमितिलाई प्रदान गरिएको निर्वाचन समितिका संयोजक गोपाल देवानले जानकारी दिए । यसैगरि, फोनिजको प्रदेश अधिवेशनको लागि पार्षद र केन्द्रीय महाधिवेशनको लागि केन्द्रीय पार्षद चयन गर्ने अधिकार पनि कार्यसमितिलाई नै दिइएको देवानले बताए ।
यसअघि गत मंसिर २८ गते जिल्ला अधिवेशनको उद्घाटन सत्र सोही सभाहलमा भएको थियो । उद्घाटन सत्र सकिएपश्चातन सदस्यता नविकरण र नयाँ सदस्यताको विवाद भएपछि बन्दसत्र शुरु नभै अधिवेशन स्थगित भएको थियो । उक्त विवादलाई जिल्ला कार्यसमितिले हल गर्न नसकेपछि प्रदेश कमिटीले प्रदेश सदस्य विना तामाङ, प्रदेश सदस्य प्रदिप चौधरी र निवर्तमान जिल्ला अध्यक्ष धिरेन्द्र चौधरीको संयोजकत्वमा ३ सदस्य कमिटी गठन गरेको थियो । नयाँ सदस्यता विवादबारे समाधानको लागि निवेदनलाई तत्काल यथावत राखी ३ महिना पछि नयाँ कार्यसमितिलाई राखेर समस्या समाधान गर्ने बन्द सत्रले सर्वसम्मत पारित गरेको फोनिज सुनसरीले जनाएको छ ।
भिडियो:
अध्यक्षमा निवार्चित गुरुङले फोनिज घर निर्माण गर्ने घोषणा गरेका छन् । निवार्चित भएपछि उनले संक्षिप्त सम्बोधन गर्दे रिडिङ क्लबसहितको फोनिज घरको अवधारणा बताएका हुन् । यस्तै, डिजिटल फोनिज बनाउन आधिकारिक फेसबुक, वेभसाइड बनाउने र अधिकतम प्रविधिको उपयोग गर्ने योजना पनि उनले सुनाए ।
जिल्ला भरिका फोनिजकर्मीको निधन भएमा शोकाकुल परिवारलाई संवेदनासँगै सहानुभूति कोष स्थापना गर्ने र आर्थिक सहयोग गर्ने परम्पराको थालनी गर्ने पनि बताएका छन् । यसको लागि अध्यक्षसहित नवनिवार्चित कार्यसमितिले कोषको लागि सहयोग गर्ने पनि घोषणा गरेका छन् । उनले फोनिज म्यागजिन र फोजिन स्वास्थ्य र दुर्घटना विमाको लागि पनि पहल गर्ने बताएका छन् ।