सुनसरी: नेकपा माओवादी केन्द्रका विभिन्न तहका नेताहरुले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी(ए.एस.)मा प्रवेश गरेका छन् । 

नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तह र पार्टीका जिल्ला तहका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र परित्याग गर्नेहरुमा बुद्धिजिवी फाँटका प्रदेश सचिव प्राध्यापक अर्जुन उप्रेती, प्रदेश सदस्य डा खगेन्द्र ओली, स्वास्थ्यकर्मी संघका जेपी उराँव, बुद्धिजिवि फाँटका चेवन कोइराला, विशाल ओलीलगायत छन् ।

उनीहरुलाई नेकपा एसका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश एकका इन्चार्ज धनेन्द्र बस्नेत, पोलिटव्युरो सदस्य धर्मराज निरौला, जिल्ला अध्यक्ष गोविन्द निरौलालगायत नेताहरुले स्वागत गरेका थिए । नेकपा एसका केन्द्रीय सदस्य विष्टले ३१५ जनाको नामसहितको हस्ताक्षर प्राप्त भएको र केही समयभित्रै औपचारिक कार्यक्रम आयोजना गरि पार्टी प्रवेश गराएर जिम्मेवारी दिइने बताए । 

नेताहरुले बुधवार एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रले सामान्य विधि, नीति र पद्दतीसमेत उल्लंघन गर्दै विर्सजनतर्फ अग्रसर भएकोले पार्टी परित्याग गरेको जिकिर गरेका छन् । सांगठनिक, सैद्धान्तिक र बैचारिक विचलनसहित दक्षिणपन्थी विसजनवादतर्फ माओवादी केन्द्र गएको उनीहरुको भनाई छ ।

माओवादीले गरेको जनयुद्धबाट प्राप्त कम्युनिष्ट आन्दोलनका उपलब्धीलाई सम्मान र आत्मसात गर्दै नेकपा एकिकृत समाजवादीले लिएको समाजवादको बाटोमा अगाडी बढन सकिने भन्दै उनीहरुले विज्ञप्तीमार्फत एकीकृत समाजवादीमा प्रवेश गरेको खुलाएका छन्। नेकपा एस प्रवेश गरेका प्राध्यापक उप्रेतीले माओवादी केन्द्र आठौ महाधिवेशनपछि परिवारवाद भित्र फस्न पुगेको भन्दै एमाले भन्दापनि चरम अवसरवादी र व्यक्तिवादी पार्टीमा परिणत भएकोले परित्याग गरेको बताए । 

mao-