धरान: सत्तारुढ गठबन्धन आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएको छ।
सत्तारुढ गठबन्धन दलहरु स्थानीय तह निर्वाचन पछि सार्न कसरत गरेपछि चौतर्फी आलोचना र दवाव आउन थालेपछि आज ९शनिबार० साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र निर्वाचन गर्न सहमत भएका हुन् । बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
गठबन्धन बैठकको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँग आवश्यक परामर्श गरेर निर्वाचनको मिति तोक्ने पनि मन्त्री कार्कीले बताए । उनका अनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ । सत्तारुढ गठबन्धनका दलहरु संविधान र स्थानीय तह निर्वाचन ऐन बाँझिएको भन्दै ऐन संशोधन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे बहसमा केन्द्रीत थिए । तर, गठबन्धनको चौतर्फी आलोचना हुन थालेको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत प्रधानमन्त्री देउवालाई स्थानीय तह निर्वाचन पछि नसार्न लिखितरुपमा नै आग्रह गरेकी थिइन् ।