धरान: नेकपा एमालेका महासचिव शंकर पोख्रेल आज (शुक्रबार) साँझ नै धरान आउदैछन् ।
भोली (शनिबार) धरान १५ स्थित चुम्लुङ हिममा आयोजना हुने अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमको लागि उनी धरान आउन लागेका हुन् । एमाले सुनसरी जिल्ला कमिटीको आयोजना तथा धरान उपमहानगर कमिटीको व्यवस्थापनमा उक्त कार्यक्रम हुन लागेको हो । जिल्ला कमिटीले शुक्रबार धरानस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै १० औं राष्ट्रिय महाधिवेशनले निर्धारण गरेको कार्यक्रम, नीतिको बारेमा प्रशिक्षण हुने जानकारी दिएको छ ।
एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले प्रशिक्षणसँगै नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत विभिन्न पार्टीबाट एमालेमा समाहित हुने ठुलो संख्यामा नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश कार्यक्रम पनि हुने जानकारी दिए । ‘मुख्यरुपमा महाधिवेशनले निर्धारण गरेको नीति, कार्यक्रमबारे महासचिव कमरेडबाट प्रशिक्षण हुनेछ भने दोस्रो केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार एमालेमा आउन चाहने विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुलाई पार्टीमा समाहित गराउने कार्यक्रम छ,’अध्यक्ष भण्डारीले भने । यो कार्यक्रमको लागि महासचिव पोख्रेल शुक्रबार साँझ नै धरान आएर बस्ने पनि अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रममा ६ सयको हाराहारीमा विभिन्न पार्टीका नेता, कार्यकर्ताहरु एमालेमा समाहित हुने अध्यक्ष भण्डारीको दाबी छ । कार्यक्रम स्वास्थ्य प्रोटोकल ख्याल गर्दे आयोजना गरिने पनि उनको भनाई छ । अगुवा कार्यकर्तहरु भएकोले स्वास्थ्य प्रोटोकलप्रति सचेत हुने र प्रायः सबैले खोप लगाइसकेको हुनाले जोखिम नहुने पनि उनको भनाई थियो ।
को को प्रवेश गर्दैछन् एमालेमा ?
शुरुमा शनिबार हुने कार्यक्रम एमाले धरान उपमहानगर कमिटीको आयोजनामा हुने भनिएको थियो । केन्द्रीय महासचिव ल्याएर आयोजना हुने पार्टी प्रवेश कार्यक्रमको आयोजक एक्कासी फेरियो ।
आयोजना जिल्ला कमिटी भयो भने धरान कमिटी व्यवस्थापकीय जिम्मेवारीमा रह्यो । धरानका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइने भएपनि एमालेमा प्रवेश गर्ने अन्य पार्टीका नेताहरु माथिल्लो तहको भएको हुनाले मर्यादा कायम राख्न जिल्ला कमिटीले आयोजना गर्नुपरेको जिल्ला अध्यक्ष भण्डारीले बताए । पत्रकार सम्मेलनमा उनले भने,‘अहिल्यै नाम सार्वजनिक नगरौ, तर माओवादी केन्द्र र अन्य राजनीतिक दलका प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका गरि ६ सय जतिको संख्यामा एमालेमा समावेश हुदैहुनुहुन्छ ।’
अध्यक्ष भण्डारीले व्यवहारिकरुपमा नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मुलधार भएको प्रमाणित हुने प्रक्रियामा रहेको र त्यसको एउटा भाग सुनसरीको धरानमा हुन लागेको बताए । उनले नेकपा माओवादी केन्द्रबाट मुख्यरुपमा पार्टी प्रवेश कार्यक्रम हुने भन्दै धरानको कतिपय वडा माओवादीको शुन्यतामा जाने दाबी गरे । उनले भने, एमालेमा नेकपा माओवादी केन्द्रबाट मुख्यरुपमा आउदैछन् । कतिपय वडाहरु भोली(शनिबार)बाट माओवादी केन्द्र शुन्यतामा जाने परिस्थति पनि बन्दैछ । कुन वडा हो त्यो भन्दैनौ, भोली थाह पाइहल्नुहुन्छ ।’