इनरुवा: सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । 

उक्त वडामा दुर्गानारायण चौधरी (लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । यो वडा प्रदेश नं.१ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको निवास भएको वडा हो । 

शनिबार भेलाको आयोजना गरी वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी सुनसरीका कार्यालय सचिव विनोद कटुवालले जानकारी दिए । शनिबार सम्पन्न भेलाले कमिटीको उपाध्यक्ष यशोदा फुयाँल, सचिव कुलबहादुर(अभि) निरौला, सहसचिवहरू यमबहादुर बस्नेत र पर्शुराम कटुवाललाई चयन गरेको छ । 

उक्त वडामा कमिटी गठन भएसँगै इनरुवा नगरअन्तर्गत वडा कमिटी गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको नेकपा एकीकृत समाजवादी इनरुवा नगर कमिटीका अध्यक्ष सुवास राईले बताए । उनले ६ नम्बर वडा कमिटी गठनपछि पार्टीमा नयाँ ऊर्जा थपिएको बताए ।

भेलाका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले वडा कमिटी गठनले आन्दोलन र अभियान बिसर्जन गर्न खोज्ने अवसरवादीहरूलाई गतिलो झापड दिएको बताए । कम्युनिष्ट पार्टीको मूल्य र मान्यताअनुरुप एमाले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हुनै नसक्ने भन्दै उनले नेकपा एकीकृत समाजवादी नै निकट दिनमा मूलधारको पार्टी हुने विश्वास व्यक्त गरे ।