विराटनगर: स्थानीय तह निर्वाचन घोषणालगायत माग गर्दै एमाले निकट अनेरास्ववियु महानगर कमिटीले शनिबार साँझ विराटनगरमा मसाल जुलुस गरेको छ। 

मसाल जुलुससहित निस्केका विद्यार्थीहरुले नगरका विभिन्न भागमा प्रर्दशन गर्दै ट्राफिक चोकमा पुगेर कोणसभा आयोजना गरेका थिए । गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरि जनप्रतिनिधिविहिन बनाउन चलखेल गरेको भन्दै अनेरास्ववियुले प्रर्दशन गरेको हो । 

अनेरास्ववियुले अविलम्व स्थानीय तहको निर्वाचन मिति घोषणाको माग गरेको छ । यो माग लिएर संगठनले निरन्तर रुपमा दवाव मुलक कार्यक्रम गर्दै आएको उपमहासचिव भाष्कर खनालले बताए । उनका अनुसार आन्दोलन निरन्तर रुपमा जारी रहनेछ । गठबन्धन सरकारका नकारात्मक कामको निरन्तर विरोध गर्ने भन्दै उनले प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्ने निर्णय, मूल्यबृद्धि, सरकारी असंवैधानिक अभिव्यक्तिको विरोध पनि जारी राख्ने जनाएको छ । 

कोणसभालाई अनेरास्ववियु उपमहासचिव भाष्कर खनाल, यूवा संघ नेपालका कोषाध्यक्ष मुकेश बुढाथोकी लगायतका विद्यार्थी नेताहरुले सम्वोधन गरेका थिए । साझ निकालिएको मसाल जुुलसमा करिव ३ सय यूवा, विद्यार्थीको सहभागिता रहेको थियो । यसअघि विराटनगरमा सडक बहस, सडक पत्रकार सम्मेलन, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाउने लगायतका कार्यक्रम अनेरास्ववियुले गरेको थियो ।

masal