धरान: धरानमा विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
सोमबार नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरान ८ स्थित आयोजना गरेको टोल समिति गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १४ जना कांग्रेस प्रवेश गरेका हुन् । कार्यक्रममा राजकुमारी गजमेर, देविका राई, सुनिता श्रेष्ठ, रविन तामाङ, स्नेह गुरुङ, समिप खड्का, प्रशान्त राई, राजिव तामाङ, बिजु भूजेल, आषिश खान, सहनबाज खान, अनिष लिम्बु, अस्मित मगर, रेस्मा घिमिरे, देबिका राई पार्टी प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
उनीहरुलाई मेयर तिलक राई, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोख्रेल, कांग्रेस सुनसरी जिल्ला सहसचिव गणेश सुब्बा लगायत नेताहरु अबिर र खदा लगाएर स्वागत गरेका थिए । श्याम श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको कांग्रेस धरान उपमहानगर समितिले जनाएको छ ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कार्यक्रममा शुभकामना दिदै खानेपानी समस्या समाधान गर्न अहोरात्र रुपमा खटिरहेको बताए । यसवर्ष माघ महिनादेखि दिन बिराएर खानेपानी वितरण गरिरहेको मेयर राईको भनाई थियो । अहिले सुख्खा मौसमका कारण खानेपानीको समस्या रहे पनि दिन बिराएर खानेपानी वितरण गरिरहेको मेयर राईको भनाई थियो ।
नगर सभापति पोख्रेलले नगर कार्यसमितिको पहिलो बैठक र वडा सभापतिहरुको संयूक्त बैठकबाट फागुन मसान्तभित्रमा सबै वार्डको सबै टोलमा टोल समिति गठन गर्ने निर्णय गरिएको र त्यही अनुरुप धरानका धेरै वार्डहरुमा टोल समिति गठनको प्रक्रिया अगाडी बढिरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले धरानमा नेपाली कांग्रेसको आवश्यकता भएर नै उपनिर्वाचनमा कांग्रेसको विजय भएको बताए ।