विराटनगर: प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सचिवहरूलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

प्रदेश नं.१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको बुधबार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनैतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरेका छन । ‘हामीलाई चिनिया उक्तिजस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ,’मुख्यमन्त्री राईले भने,‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुप¥यो, कर्मचारी जो भए पनि हुन्छ ।’ 

उनले कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीहरूलाई निर्देशन दिए । मुख्यमन्त्री राईले योजना कार्यान्वयनको क्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवहरूलाई पनि आग्रह गरे । ‘यो वा त्यो कानूनको बाहना गरेर मन्त्रीज्यूहरूलाई अलमलाउनु भएन’ मुख्यमन्त्री राईले भने, ‘टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवज्यूहरूले पनि मन्त्रीज्यूहरूलाई खुला र पारदर्शी ढंगले भन्नुप¥यो ।’ मुख्यमन्त्री राईले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको बताए । उनले जहाँ समस्या देखिन्छ, त्यहाँ कानून बनाउँदै जाने बताए ।

cm-nirdesan

समीक्षा कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पदानबाटै जवाफ दिनुपर्ने बताए । ‘अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्दछ’ मन्त्री आङ्बोले भने । उनले कामको प्रकृति र जिम्मेवारीअनुसार मन्त्रालयहरूको बजेट फरकफरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै प्राप्त बजेट सञ्चालन र खर्च गर्नमा दक्षता बृद्धि हुनुपर्ने बताए ।

उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीहरूलाई स्थीर सरकारको संज्ञा दिदै जाडोमा तराई गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजश्वको स्रोतलाई बृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम कारवाहीलाई थप व्यवस्थित गरिने बताए ।

प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावनाअनुरुप काम गर्नका लागि आवश्यक तादम्यता मिलाउन सचिवहरूलाई निर्देशन दिए । उनले सरकारका मन्त्रीहरूलाई ऐन, कानूनको बारे सुस्पष्ट जानकारी गराउने काम सम्बन्धित मन्त्रालयका सचिवहरूको भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे । समीक्षा कार्यक्रममा प्रदेश नं. १ अन्तर्गतका मन्त्रालय र निकायका सचिवहरूले आ–आफ्ना मन्त्रालय र कार्यालयको अर्ध–वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।