धरान: नेपाली कांग्रेसको प्रदेश नं १ का महामन्त्री उमेश थापाले आगामी स्थानीय तह निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्न नहुने बताएका छन् ।
पुर्वप्रधानमन्त्री तथा पार्टी सभापति सुशिल कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा धरानमा आयोजित अन्तक्र्रिया कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । सुनसरी क्षेत्र नं. १ को आयोजनामा नेपाली कांग्रेसका जनप्रतिनिधि र पार्टी नेतृत्व बीच अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । सोही कार्यक्रममा महामन्त्री थापाले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले विगतमा जनप्रतिनिधिहरुले पार्टीसँग प्रभावकारी समन्वय नगरेको पनि बताए । साथै, पार्टीले पनि जनप्रतिनिधिहरुसँग समन्वय नगरेको भन्दै महामन्त्री थापाले अब एक अर्कामा समन्वय र सहकार्य गर्ने वातावरण तयार भएको पनि जिकिर गरे ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी नेतृत्व र जनप्रतिनिधि वीच सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने जिकिर गर्दै जनचाहना बमोजिम कार्य गर्न अब निरन्तर छलफल, बैठक र संवाद गरिने दाबी गरे । उनले संगठन विस्तार, सुदृढिकरण र सशक्तिकरणमा जोड दिने पनि बताए । फागुन १ गते देखि पार्टी नेतृत्व गाउँ गाउँ जाने उल्लेख गर्दे उनले वडाको टिकट वितरणमा परिपक्व एवम् उचित निर्णय गरिने समेत बताए ।
जिल्ला सचिव माधव घिसिङले महाधिवेशनको प्रतिष्पर्धालाई भुलेर अब सबैजना स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने धारणा राखे । महाधिवेशन प्रतिनिधि एवम् धरान नगर प्रमुख तिलक राईले आफुहरुले राम्रो काम गर्ने प्रयास निरन्तर गर्दै आएको तर नराम्रो काम एउटा पनि नगरेको बताए । साथै उनले पार्टी र जनप्रतिनिध बीच सहकार्य हुनुपर्ने बताए ।
वराह नगर सचिव एवं बराह २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराईले शिक्षा, स्वास्थ्य र सिंचाईको क्षेत्रमा वडामा राम्रो काम गरिएको बताए । रामधुनी नगर सचिव दोस्तीराम चौधरीले विगतमा पनि टिकट वितरणमा कमी कमजोरी भएको भन्दै यस पटक टिकट वितरण गर्दा राजनीतिक क्षेत्रमा मात्र नभई समाजिक क्षेत्रमा समेत ख्याती कमाएकालाई प्राथमिकता दिनुपर्ने बताए ।