धरान: नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं १ मा पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियान शुरु गरेको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. १ अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट अभियानको शुरुवात गरेको हो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी कांग्रेस जनजनमा जागरण ल्याउन र संगठन विस्तारमा टेवा पुर्याउन अभियान वडाहरुमा सञ्चालन गरिएको बताए । संगठनलाई मर्यादित, अनुशासित बनाउने तथा जनता र कार्यकर्ताप्रति पार्टीका स्थानीय नेतृत्वलाई जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले अभियान शुरु गरिएको उनको भनाई छ ।
जनअपेक्षा र कार्यकर्ताको भावना बमोजिम पार्टी गतिविधि गर्न तथा पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाई संगठनलाई विस्तार गर्न र चुस्तदूरुस्त राख्न अभियानले सहयोग पुग्ने विश्वास लिएको पनि तामाङले बताए ।
क्षेत्रीय उपसभापति तथा प्रदेश १ (२) का सभापति मुरारी भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा आफुले टिकट पाउंदा मात्र खट्ने मनस्थिति हुनु नहुने र टिकट वितरण गर्दा नेतृत्व पनि चुक्न नहुने बताए । उनले रामधुनी ७ को पञ्चायानमा शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्नुपर्ने बताए ।
रामधुनी नगर सभापति सुदिप अधिकारीले विगतमा माथिल्लो तहका पार्टी नेतृत्व वडा वडामा नआउंदा कांग्रेसको संगठन खस्केको बताए । उनले एमसीसी लगायतको राष्ट्रिय मूद्दामा कांग्रेस स्पष्ट हुनुपर्ने बताए । महाधिवेशन प्रतिनिधि ममता तामाङले केन्द्रीय नेताले हरेक मूद्दाहरुमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बताए ।
पूर्व जिल्ला सदस्य रामराज महतले पहिलो पटक पार्टी नेताहरु यसरी शुद्धिकरणको कार्यक्रम लिएर वडावडामा आएको भन्दै यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने बताए । उनले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौट गर्दा पैसाको आधारमा नभई लोकप्रियता, क्षमता, इमान्दारीता र योगदानको आधारमा छनौट गर्नुपर्ने बताए ।
क्षेत्रीय सचिव केशव पुरीले कार्यकर्ताको सही मूल्यांकन गरी अवसर प्रदान गरिनुपर्ने बताए । प्रदेश प्रतिनिधि सरिता चौधरीले संगठन गर्नुका साथसाथै टोल र बस्तीका जनताहरुको समस्या समेत पहिचान गरी त्यसको समाधान गर्न पहल गर्नुपर्ने बताए । उनले बक्लौरी १ र २ खानेपानीको अभाव रहेको र खोला नियन्त्रणमा ध्यान नपुगेको बताए ।
रामधुनी ७ का वडा सभापति जगतबहादुर राईले पार्टी नेतृत्वहरु गाउं वस्तीमा आउंदा आफुहरुलाई हौसला र उर्जा मिलेको भन्दै गठन गर्न बांकी टोल समितिहरु गठन गर्ने, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई चलायमान बनाउने, वडाका बस्तीहरुमा घुम्ती बैठक बस्ने, नियमित रुपले बैठक बस्ने र विविध कार्यक्रमहरु गरिने बताए । स्थानीय विकास निर्माणका योजनाहरु लिएर डेलिगेशन जाने समेत उनले बताए । क्षेत्रीय सभापति तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण तथा सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए भने टिपोट क्षेत्रीय सहसचि भोजराज न्यौपानले गरेका थिए ।