धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले निर्णय गर्नुअघि नै आफुखुशी उम्मेदवारी घोषणा गर्ने, प्रचार गर्नेलगायत कार्य गर्न रोक लगाएको छ । 

उपसचिव तथा प्रचार विभाग प्रमुख राम कोइरालाले एक विज्ञप्तीमार्फत हिजो बुधबार सम्पन्न दोस्रो पुर्ण बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । एमालेका कुनै पनि नेता, कार्यकर्ताहरुले पार्टी निर्णय अगावै उम्मेदवारी घोषणा गरेमा र आफुलाई केन्द्रमा राखेर प्रचार गर्ने लगायत अनुशासनहिन हर्कत गरेको थाह पाएमा त्यस्ता उम्मेदवारलाई सम्भावित उम्मेदवारको सुचीबाटसमेत हटाउने बैठकले निर्णय गरेको विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

यसैगरि, बैठकले आगामी बैशाख ३० गतेसम्म सबै नेता, कार्यकर्ता पुर्णकालिन भएर चुनावी लक्ष्य चुम्ने सामुहिक प्रतिवद्धता पनि व्यक्त गरेको एमाले सुनसरी प्रचार विभागले जनाएको छ । स्थानीय चुनाव लक्षित गर्दै बसेको बैठकले जिल्ला सदस्यहरुको कार्य विभाजन पनि गरेको छ भने १२ वटा पालिकामा टोल टोलसम्म कमिटी निर्माण विस्तार गर्न भेला, प्रशिक्षण गर्न र सबै जनसंगठनको निर्माण र परिचालन गर्न मातहतको कमिटीलाई बैठकले निर्देशनसमेत दिएको प्रचार विभागले जनाएको छ । 

cpn 1