धरान: सर्वसाधारण वचतकर्ताहरुको अर्बौं रकम अपचलन तथा ठगीमा संलग्न बराह ग्रुप अफ कम्पनी र त्यसअन्तर्गतको बराह सहकारीका सञ्चालक, कर्मचारीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

अदालतबाट पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालयले बराहका सञ्चालक र कर्मचारी पक्राउ गर्न गोप्य अप्रेशन चलाएको छ । आधा दर्जन बढी सञ्चालक, तिनका परिवार र कर्मचारीहरु धरानबाट पक्राउ परिसकेका छन् । तर मुख्य व्यक्तिहरु भने फरार छन् । 

प्रहरीले बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछाने, बराह सहकारीका अध्यक्ष र ग्रुप अफ कम्पनीका सचालकसमेत रहेका मानबहादुर दियाली, ऋण समितिको संयोजक गंगा कालिकोटे, सौराज भनिने अमरबहादुर विकको खोजी तीब्र पारेपनि पक्राउ गर्न सकेको छैन ।

प्रहरी स्रोतका अनुसार मानबहादुरकी श्रीमति, गंगा कालिकोटेकी श्रीमतिसहित केही कर्मचारीहरु पक्राउ परिसकेका छन् । ‘गोप्यरुपमा अप्रेशन गरिरहेका छौं, तर पनि केही व्यक्तिहरु भागिसकेका छन्,’प्रहरी स्रोतले भन्यो,‘अप्रेशन सकेपछि मिडियालाई औपचारिकरुपमा नै जानकारी हुन्छ ।’

बराह पीडित संघर्ष समितिका सुचना विभाग प्रमुख पुकार शाक्यले पनि प्रहरीबाट बराहका सञ्चालक र कर्मचारीहरु पक्राउ गरिरहेको बताए । उनका अनुसार सहकारीका अध्यक्ष मानबहादुरकी श्रीमति, सञ्चालक तथा ऋण उपसमिति संयोजक गंगा कालिकोटेकी श्रीमति, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, एकाण्टेन्ट अर्पण श्रेष्ठ, लेखा सुपरिवेक्षण संयोजक सुदिन ल्वागुन, ऋण उपसमिति सदस्य शेरबहादुर महतलगायत पक्राउ परेका छन् ।  

बराह ग्रुप अफ कम्पनी र बराह सहकारीमा सर्वसाधारणहरुको लगानीकर्ता र वचतकर्ताहरुको १४ अर्ब भन्दा बढी रकम डुबेको छ । रकम फिर्ताको माग गर्दे पीडितहरु निरन्तर आन्दोलनमा गरेपनि सञ्चालकहरुले पैसा फिर्ता गर्ने सुनिश्चितता गर्न सकेको थिएन । पटक पटकको संवादपछि पनि समाधान हुन नसकेपछि पीडितहरु कानुनी उपचारको बाटोमा गएका थिए ।

उपमहानगरपालिकामा शंकर गाउले लगायत २६ जनाले कारबाहीको माग गर्दे निवेदन दिएका थिए । उक्त निवेदनलाई अनुसन्धान गरेर कारबाही गर्नुभनेर उपमहानगरपालिकाले प्रहरीमा सिफारिश गरेको थियो । अहिले जाहेरी ९० जना भन्दा बढी पुगेको संघर्ष समितिका प्रदिप बास्तोलले बताए ।