धरान: उदयपुरको भुल्केस्थित मस्जिदमा कोरोना संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको पनि परीक्षणको लागि स्वाब संकलन गर्न थालिएको छ ।
कोशी अस्पताल विराटनगरबाट गएको स्वास्थ्यकर्मीको टोलीले संक्रमितहरुसँग सम्पर्कमा देखिएका व्यक्तिहरुको स्वाब लिइरहेहका छन् । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईका अनुसार संक्रमितहरुको सम्पर्कमा रहेको घरहरुको पहिचान गरेर पहिलो चरणमा उनीहरुको स्वाब संकलन भइरहेको छ । ‘५०, ५५ घर उच्चजोखिममा छ भन्ने खुल्यो । जो जो मस्जिदमा आउजाउँ गर्थे, संक्रमितहरुको नियमित सम्पर्कमा थिए, उनीहरुलाई पहिलो चरणमा परीक्षण हुन्छ,’सहायक प्रजिअ भट्टराईले भने ।
पहिलो चरणमा करिब ६० जनाको स्वाब संकलन गरेर परीक्षण गर्ने बताइएको छ । संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको पहिचान भएपछि पहिलो चरण उनीहरुको परिक्षण गरिने र रिपोर्टको आधारमा आवश्यक कदम चालिने सहायक प्रजिअ भट्टराईले बताए । ती घरपरिवारबाहेक अन्य पनि मस्जिदमा आउजाउ भए नभएको बारेमा जनप्रतिनिधिहरुमार्फत अझै खोजी कार्य भइरहेको उनले जानकारी दिए । ‘अहिले स्वाब कलेन्सन भएकाहरुको रिजल्ट के आउछ, त्यो अनुसार गर्दै जान्छौं । अरु पनि सम्पर्कमा थिए कि भनेर जनप्रतिनिधिहरुले खोजी गर्दै हुनुहुन्छ,’भट्टराईले भने ।
भुल्केस्थित एक मस्जिदमा १२ जना भारतीयसहित १६ जना रहदै आएका थिए । उनीहरुमध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ । संक्रमित मध्ये एक जना नेपाली पनि छन् । परीक्षणको रिपोर्ट आएलगत्तै प्रशासनले भुल्के गाउँलाई सिल गरेको छ भने १६ जनालाई नै विराटनगर पठाएको थियो । ती मध्ये संक्रमित १२ जनालाई कोरोना कोभिड उपचार केन्द्रमा राखिएको छ भने ४ जनालाई टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको छ ।