धरान: उदयपुरमा कोरोना संक्रमित फेला परेपछि धरान प्रवेश गर्ने नाका सिल गरिएकै समयमा सुनसरीको दक्षिणी क्षेत्र हरिनगराबाट २ जना व्यक्ति साइकलमा धरान प्रवेश गरेको पाइएको छ ।

उनीहरु साइकलमा कालाञ्जार, जंगल हुदै धरान १६ स्थित लोकतान्त्रिक बस्तीमा आज बिहान आएको पाइएको हो । एक जना करिब ५५ बर्षका र करिब १७ बर्षका किसोर दुई जना साइकलमा धरान आएका हुन् । उनीहरुलाई वडा कार्यालयले प्रहरीको सहयोगमा पुनः गाउँ नै फिर्ता पठाइसकेको छ । ती व्यक्तिको छोरा लोकतान्त्रिक बस्तीमा रहदै आएका छन् । उनको श्रीमति पनि धरान आएको र लकडाउनले रोकिए पछि साइकलमा भएपनि लिन आएको भन्ने जवाफ दिएको वडा नं १६ का सदस्य दिपक आचार्यले जानकारी दिए । उनका अनुसार दुवै हरिनगराबाट साँझमा साइकलमा हिडेर आज बिहान धरान आइपुगेका हुन् । ‘श्रीमति धरानमा अड्किएकोले खाना पकाउने कोही नभएर लिन आएको भन्यो,’आचार्यले भने,‘बेलुकीको खाना छोराकोमा खाएर राती नै श्रीमति लिएर फर्कने योजनामा आएका रहेछन् ।’

अपरिचित व्यक्ति आफ्नो टोलमा आएपछि लोकतान्त्रिक बस्तीमा हल्लीखल्ली मच्चियो । स्थानीयबासीले अपरिचित व्यक्तिहरु आएको भन्ने जानकारी गराएपछि प्रहरीसमेतको टोली उक्त वस्तीमा पुगेको थियो । सोधीखोजी गर्दा ती व्यक्ति छोराको घरमा रहेको श्रीमति लिन आएको नै खुलेको थियो । साथै, उनीहरु भारतबाट आएको नभै सुनसरीकै दक्षिणी हरिनगरा गाउँपालिकाबाट आएको खुलेको पनि वडा सदस्य आचार्यले बताए । ‘सोधपुछ गरिसकेर प्रहरी पनि भएर दुवै जनालाई गाउँ नै फकाईयो,’वडा सदस्य आचार्यले जानकारी दिदै भने ।

ती व्यक्तिहरुलाई प्रहरीले ठाउँ ठाउँमा भेटेर पनि केही नभनेको अभिव्यक्ति दिएका छन् । ‘प्रहरीले केही भनेन, नत्र हामी उतै फर्कन्थ्यौं भन्यो,’आचार्यले भने । ती व्यक्तिका छोरा धरान १ लक्ष्मी चोकस्थित टायर पसल सञ्चालन गरेर बस्छन् ।