धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सुनसरी जिल्लामा एक जना कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको छ । ती कोरोना संक्रमित डेढ बर्षका बालक भएको खुलेको छ ।
ती बालक रामधुनी नगरपालिका १ स्थित क्वारेन्टाइनमा आमा बुबासँगै थिए । उनीहरु करिब १४ दिनअघि दिल्लीबाट आएका हुन् । रामधुनीका मेयर जयप्रकाश चौधरीका अनुसार बच्चालाई कोरोना संक्रमण भएको पुष्टि भए पनि उनका आमा बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ । ‘आमा बुबासँगै दिल्लीबाट आएको डेढ बर्षको बच्चाको रिपोर्ट चै पोजेटिभ आयो । आमा बुबाको नेगेटिभ छ,’मेयर चौधरीले भने,‘क्वारेन्टाइनमा १४ दिन बसेकोले परीक्षण गरिएको थियो ।’ रिपोर्ट पोजेटिभ आएपछि आज बच्चा र अभिभावकलाई जिल्ला अस्पताल पठाइएको पनि मेयर चौधरीले बताए ।
यो परिवारको रिपोर्ट हिजो नै आएको थियो । तर, बच्चासँगै रहेका आमा बुबाको रिपोर्ट नेगेटिभ आएकोले पुनः क्रस चेक गर्न पठाइएको थियो । क्रस चेक गर्दा पनि बच्चाको पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए ।