धरान: युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले आकांक्षा नेपालले नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।
तालिममा सहभागीहरुलाई धरान जेसीजका पूर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले सहजीकरण गरेका थिए । तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र शीप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहरु लगायत विषयमा तालिम दिइएको थियो । युवा भविष्यको कर्णधार र सम्भावना भएका कारण उनीहरुलाई असल संस्कार र सोचको विकास गर्न नेतृत्व विकास तालिम जरुरी रहेको आकांक्षा नेपालका अध्यक्ष रत्न राईले बताइन् । असल नेतृत्वबाट मात्र सामुहिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने अवधारणामा आधारित भएर तालिम दिइएको उनले बताए ।
तालिममा धरानको १३ नं. वडा लगायतका ३० जना युवाहरु सहभागी भएका थिए । तालिमबाट सिकेका कुराहरुले आफुलाई अघि बढ्न मार्ग निर्देशन गरेको सहभागीका तर्फबाट विजय घिमिरेले बताए । त्यसैगरी अर्का सहभागी सोनिका भट्टराईले यस्ता तालिमहरु युवाहरुको लागि मार्गनिर्देशन गर्न आवश्यक रहेको र सरोकारवाला पक्षले निरन्तरता दिनुपर्ने बताईन् ।