धरान: प्रेस्किप्सन विना अवैधरुपमा औषध घरमा राखेर कारोबार गर्ने धरानका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ५ देउरालीका २७ को बर्षीय सुवास राई रहेका छन् । उनलाई बुधबार राती करिब ६ बजे बिशेष सुचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरी टोलीले उनको घरमा कोठा खानतलासी गर्दा टिनको बाकसमा रहेको हाते झोलामा विभिन्न अवैध औषधीहरु फेला परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड लेखिएको ३८३ चक्की र स्पाज्मिड लेखिएको ३२२ चक्की औषधी भेटिएको प्रहरीले जनाएको छ । उनलाई आज औषधीसहित आवश्यक कारबाहीको लागि औषधी ब्यबस्था विभाग बिराटनगर पठाइएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । 'त्यसरी बेच्न पाइदैन, प्रेस्किप्सन विना पनि बेच्न हुदैन,'डिएसपी बस्नेतले भने,'दुई तीन प्रकारको औषधी मिसाएर लागुऔषध बनाएर बेच्ने गरेको रहेछ ।' धरान प्रहरीले यसअघि पनि मेडिकल सञ्चालकसहित डाक्टरको प्रेस्किप्सनविना औषधी किनबचे गर्ने गिरोहलाई पक्राउ गरेको थियो ।