धरान : सालको रुख काटिएको घटनामा सब डिभिजन वन कार्यालय, विष्णुपादुकाले धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहसँग लिखित जवाफ माग गरेको छ ।
डिभिजन प्रमुुख एवं सहायक वन अधिकृत राजेन्द्रप्रसाद यादवले पत्र पठाउदै विभिन्न ४ वटा प्रश्नको लिखित जवाफ मागेका छन् । वनले बुधबार पत्र पठाएर थप स्पष्टताको लागि केही प्रश्नहरुको जवाफ मागिएको सहायक वन अधिकृत यादवले बताए । ‘अनुसन्धानको काम जारी छ, समुहलाई पत्र पठाएका छौं, ३ दिनभित्र जवाफ माग गरेका छौं, आइतबारसम्म आएन भने थप कदम चाल्छौं,’उनले भने ।
वनले कस्को आदेशमा, कुन प्रयोजनको लागि रुख काटेको हो भन्ने प्रश्न गर्दै समितिलाई जानकारी भए, नभएको पनि जवाफ माग गरेको छ । यस्तै, घटना सम्बन्धमा समुहको स्वीकृत विधान तथा कार्ययोजना वमोजिम कार्यबाही भएको हो कि होइन भन्ने प्रश्नको पनि जवाफ वन कार्यालयले मागेको छ ।
यस्तै, बुँदा नम्बर ३ मा वरामदी मुचुल्काको क्रममा कतिपय मानिसहरुले रुख कटान कार्यमा धरानका मेयर तिलक राईको निर्देशनमा कोषाध्यक्ष भिम बस्नेतको रोहबरमा काटिएको हो भनेकोले उक्त कुरा सत्य हो कि होइन ? भन्ने प्रश्नको जवाफ पनि माग गरेको छ । वन कार्यालयले रुख कटान भएको घटना पहिला मिडियामा आउनु तर सम्बन्धित निकाय(वन कार्यालय)मा समयमा नै जानकारी नआउनुको कारण सोध्दै समितिको संलग्नता छ भन्न किन नमिल्ने भनेर पनि जवाफ माग गरिएको छ ।
'समुहको निर्णयसहित किटानी आउनुपर्छ '
सहायक वन अधिकृत यादवका अनुसार वन समुहका अध्यक्ष बुद्धिमान तामाङले मेयर तिलक राई र कोषाध्यक्ष भिम बस्नेतको नाम उल्लेख गरेर निवेदन दिए पनि त्यो व्यक्तिगत निवेदन हो । वन समुहको निर्णयसहितको संस्थागत निवेदन हालसम्म नआएको उनले बताए । वरामदी मुचुल्काको क्रममा पनि मेयर राईको निर्देशन हो वा होइन भन्ने यकिन हुन नसकेको उनको भनाई छ । ‘समुहको निर्णयसहित किटानी आउनुपर्छ, त्यो निवेदन अध्यक्षको मात्र भयो । सबुत प्रमाण जुटाउनको लागि संस्थागत आउनुपर्छ,’उनले भने,‘वरामदी मुचुल्कामा पनि किटानसाथ आएन, यकिन त हुनुपर्यो नि । थप स्पष्टताको लागि पत्र पठाएका हौं ।’
तस्करले काटेको भन्न दबाब आयो: वन समुह अध्यक्ष
वन उपभोक्ता समुहका अध्यक्ष बुद्धिमान तामाङले तस्करले रुख काटेको भनेर भन्न दबाब आएको बताउँछन् । उनले वन समुहका पदाधिकारीहरु नै सालको रुख तस्करले काटेको भनेर निर्णय गराउन लागिपरेको बताए । ‘रुख तस्करले काटेको हो भनेर मैले भनिदिनुपर्ने रे, समितिकै पदाधिकारीहरु लागिपरे,’उनले भने,‘मैले सत्यकुरा मिडियामा भनिसकेको छुँ, अब अहिले कसरी फिर्ता लिनु ? मबाट हुदैन ।’
वन कार्यालयको पत्रको जवाफ दिन भोली शनिबार बैठक राखिने पनि उनले बताए । यसअघि, हिजो (बिहिबार) अध्यक्ष विना नै उपाध्यक्षको उपस्थितिमा वन समुहको बैठक राख्ने प्रयास भएको थियो । तर, विरोध भएपछि बैठक बस्न सकेन ।
गएको शनिबार सालको रुख अवैधरुपमा काटिए पछि धरानका मेयर विवादमा तानिएका छन् । वन समुहका कोषाध्यक्ष बस्नेतको उपस्थितिमा मेयरको निर्देशनमा रुख काटिएको भन्दै समुहका अध्यक्षले वन कार्यालयमा निवेदन नै दिएका छन् । मेयरले आफुले निर्देशन नदिएको, वन क्षेत्रमा नै नगएको र चरित्र हत्याको प्रयास भएको विज्ञप्ती जारी गरेका थिए । तर, लगत्तै उनले घर बनाउन काठ माग गर्दै निवेदन दिएको, ढलापढा खोज्न कोषाध्यक्षसँगै वनमा गएकोलगायत कुराकानी भइरहेको अडियो रेकर्ड सार्वजनिक भएको थियो ।