बिराटनगर: प्रहरी महानिरीक्षकबाट स्वीकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कडा कारवाही हुने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) ईश्वर बाबु कार्कीले चेतावनी दिएका छन् ।
मोरङ जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङ्गणमा निर्देशन दिदै डिआइजी कार्कीले यस्तो चेतावनी दिएका हुन् । यसैगरि, झापा जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई पनि आजै ईलाका प्रहरी कार्यालय अनारमनीमा उपस्थित गराई डिआइजी कार्कीले सोही निर्देशन दिएका थिए ।
चाडवाडको समयमा खुल्ला सिमानाको फाईदा उठाउँदै हुनसक्ने अवैध चोरी निकासी तथा अन्तरदेशीय रुपमा हुन सक्ने अपराध नियन्त्रणमा कडाईका साथ कार्य सम्पादन गर्न पनि डिआइजी कार्कीले निर्देशन दिएका थिए । सिमा क्षेत्रमा अबैध चोरी निकासी, पैठारीमा मिलेमतो गर्ने र आर्थिक प्रलोभनमा परि कमजोर कार्य सम्पादन गर्ने प्रहरीहरुलाई नियमावली अनुसार कडा कारवाही गर्ने पनि चेतावनी दिएका छन् ।