धरान: धरानको बजार क्षेत्रमा बाँदरको आतंक बढ्दै गएको र मानिसहरुलाई नै आक्रमण गर्न थालेपछि दीर्घकालिन समाधान गर्न अध्ययन गरिने भएको छ ।

बाँदर मानव द्धन्द न्युनीकरण तथा व्यवस्थापन गर्न धरानमा बाँदर बिज्ञ प्रा.डा.मुकेशकुमार चालिसे नेतृत्वको टिमले अध्ययन गर्ने भएको छ । यसका लागि धरान उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा र वातावरण तथा इञ्जिनियरीङ अनुसन्धान केन्द्र, कोटेश्वर बीच सम्झौतासमेत भएको छ । महाशाखाका प्रमुख भेषराज घिमिरे र केन्द्रका प्रबन्ध निर्देशक अजय श्रेष्ठले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बाँदरहरु सहरमा पसेर क्षति पुर्याउन थालेको कारण दीर्घकालिन समाधानको लागि बिज्ञ टोलीले अध्ययन गरेर सुझाव दिने गरि सम्झौता गरिएको महाशाखा प्रमुख घिमिरेले जानकारी दिए । ‘बाँदर सहरतिर पसेर मानिसहरुलाई क्षति पुर्याउन थाल्यो । धेरै समस्या हुन थालेपछि कसरी दीर्घकालिनरुपमा व्यवस्थापन गर्ने भनेर विज्ञ टोलीले अध्ययन गर्छ,’उनले भने,‘बाँदर सहरमा कसरी आए ? कहाँबाट र किन आए ? उनीहरुलाई हटाउन के उपाय गर्न सकिन्छ भनेर सुझाव दिन्छन् ।’

monkey1

धरान १४ विजयपुरका जंगलमा भएका बाँदरहरु पछिल्लो समय बजार क्षेत्रमा आउने गरेका छन् । आफ्नो बाँसस्थान मासिदै गएको र खानाको खोजी गर्दै झुण्ड झुण्ड बनेर बाँदरहरु धरान बजारमा हिड्छन् । त्यसक्रममा मानिसका घरमा पसेर क्षति पुर्याउने र आक्रमण गर्ने घटनाहरु पनि थुप्रै भएको छ । यसअघि पनि उपमहानगरपालिकाले बाँदर व्यवस्थापन गर्न प्रयास गरेको थियो, तर ती प्रयास सफल हुन सकेन । एक पटक भारतबाट बाँदर पक्रने मानिसहरु ल्याएर धरानको बाँदर अन्यत्रको जंगलमा छोडेको थियो भने बाँदर तर्साउन मानिसलाई जागिर पनि दिएको थियो ।

विगतमा बाँदर व्यवस्थापनमा भएको प्रयास सफल भएकोले विज्ञ टोलीलाई अध्ययन गराउने निर्णय गरिएको वातावरण निरीक्षक राजु चौहानले बताए । उनका अनुसार चालु आर्थिक बर्षमा बाँदर प्रकोप व्यवस्थापनको लागि १५ लाख बजेट विनियोजन भएको छ । त्यसमध्ये ५ लाखबाट विज्ञ टोलीले अध्ययन गर्नेछ भने बाँकी बजेटले विज्ञको सुझाव अनुसार व्यवस्थापनको लागि काम गर्दै जानेछ । ‘२ महिनाको अवधि दिइएको छ । विज्ञ टोलीले बाँदर कहाँबाट आउछन्, जनसंख्या कति छन्, सहरी क्षेत्रमा कस्ता घटना गराउछन्, अवस्था के छ, द्धन्द व्यवस्थापन गर्न के के गर्ने भनेर सुझाव दिनेछ,’चौहानले भने,‘सुझावलाई प्राथमिकताको आधारमा कार्यान्वयन गर्दै जान्छौं ।’