धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।
आफ्ना मागहरु पुरा नभएको भन्दै इन्टर्न संघर्ष समितिको अगुवाईमा अहिले प्रतिष्ठानका उपकुलपति कार्यालयअघि इन्टर्नहरुले धर्ना दिइरहेका छन् । उपकुलपति कार्यालयअघि इन्टर्नहरु र्याली गर्दै पुगेका थिए । संघर्ष समितिका संयोजक अमृत जैसीका अनुसार आजदेखि इन्र्टनहरुले इर्मजेन्सीबाहेक काम छोडेर आन्दोलनमा उत्रिएका छन् । दिउँसो १ बजेसम्म धर्ना गर्ने पनि उनले बताए ।
गत असोज १४ गते र १८ गते प्रतिष्ठान प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाउदै मागहरु राखेपनि अहिलेसम्म आश्वासनमा सिमित भएकोले आन्दोलनमा उत्रनु परेको संघर्ष समितिले जनाएको छ । दुई महिनाअघि पनि इन्टर्नहरु आन्दोलनमा उत्रिएका थिए । त्यसबेला मागहरु पुरा गर्ने आश्वासन बमोजिम आन्दोलनका कार्यक्रम फिर्ता गरेर उनीहरु नियमित काममा फर्किएका थिए ।
यसबीचमा पनि मागहरु सम्बोधनको सुनिश्चितताको लागि पटक पटक उपकुलपतिलाई भेट्न र छलफलको निम्ति समय मिलाइदिन आग्रह गर्दा पनि पहल नभएको संघर्ष समितिले जनाएको छ । ईन्टनहरूले नियमित जीवन निर्वाह भत्ता पाउनुपर्ने समयको १२ दिन पश्चात पदाधिकारीहरुले आश्वासन दिए विपरित, पहिलेकै नियम अनुसार जीवन निर्वाह भत्ता आएपछि इन्टर्न चिकित्सकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।
संघर्ष समितिले विभिन्न ११ बुँदे मागहरु पनि राखेका छन् । समितिले इन्टर्न चिकित्सकहरू र तत्कालिन प्रतिष्ठानका पदाधिकारीहरू बिच सहमति भए बमोजिम जीवन निर्वाह भत्ता नेपाल सरकारको ८ औँ तहको ५० प्रतिशत कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । यस्तै, पहिलेकै सहमति बमोजिम जीवन निर्वाह भत्तामा ३५ महङ्गी भत्ताको व्यवस्था भए बमोजिम नै कार्यान्वयन हुनुपर्ने, नाइट डिउटि हुदा खाजाका निम्ति जीवन निर्वाह भत्तामै थप १ हजार प्रदान गर्नुपर्ने, इन्टर्नहरु धेरै संक्रमित भइरहेकोले जीवन निर्वाह भत्तामै समाबेस गर्ने गरी माक्स, स्यानिटाइजर, फेस सिल्ड लगायत सामाग्रीहरुको लागि न्यूनतम थप १ हजार रुपैया व्यवस्था गरिनुपर्ने लगायत मागहरु अघि सारेका छन् ।