धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न विद्यार्थीहरुलाई धमाधम कोरोना संक्रमण देखिन थालेपछि एक साताको लागि होस्टल सिल गरिएको छ ।

संक्रमणको जोखिमलाई हेरेर इन्टर्नहरुको इन्टर्नसीप डिउटी पनि एक सातालाई रोक लगाइएको छ । होस्टलमा १७५ हाराहारीमा एमबिबिएस र बिडिएसका इन्टर्नहरु बस्छन् । ती मध्ये आजसम्म २६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको वार्डेनसमेत रहेका डा.इन्द्र लिम्बुले जानकारी दिए । ती मध्ये १८ जना छात्रा हुन् भने ८ जना छात्र रहेका छन् । संक्रमित मध्ये २ जनालाई कोभिड अस्पतालमा नै भर्ना गर्नुपरेको थियो । संक्रमित इन्टर्नहरुबाट अन्यलाई संक्रमण हुन नदिन अलग्गै आइसोलेट गरेर राखिएको र इन्टर्नहरुलाई होस्टलबाट बाहिर आवातजावत गर्न नदिन सिल गरिएको वार्डेन डा.लिम्बुले बताए । ‘होस्टल सबै सिल गरिएको छ । केटाहरुलाई ९ नम्बर र छात्राहरुलाई ७ नम्बर होस्टलमा अलग्गै राखिएको छ,’वार्डेन लिम्बुले भने ।

इन्टर्नहरु होस्टलमा बस्ने र सामुहिकरुपमा मेसमा खाना खाने गरेकोले एकबाट अर्कोमा संक्रमण फैलिने जोखिम हुन्छ । उनीहरुले प्रयोग गर्ने ट्वाइलेट, बाथरुम पनि साझा भएकोले पनि समस्या हुन्छ । संक्रमणको दर बढ्दै गएपछि इन्टर्नहरुले नै दबाब दिएपछि एक सातालाई डिनको कार्यालयले इन्र्टनसीप डिउटी जानलाई पनि रोक लगाएको छ । ‘यहाँ सबै कुरा साझा भएकोले नर्मललाई पनि संक्रमण हुने जोखिम धेरै भयो, हामी डिउटी जादा विरामीलाई पनि सर्ने सम्भावना हुन्छ, त्यसैले इन्टर्नसीप बन्द गर्न दबाब दियौं,’एक इन्टर्नले भने,‘आजदेखि एक सातालाई रोकिएको छ ।’ व्यवस्थापन पक्षले समयमा नै गम्भीरता नदेखाएको उनको गुनासो छ ।

डिन प्रा.डा.सिवेन्द्र झाका अनुसार संक्रमणको जोखिमलाई हेरेर आजदेखि लागु हुनेगरि एक सातालाई इन्र्टनसीप डिउटी रोकिएको छ । ‘यो बारेमा हिजो नै छलफल भएको हो, तर हिजो शनिबार भएकोले आजदेखि लागु हुने गरि एक सातालाई यो निर्णय गरिएको छ,’डा.झाले भने,‘लक्ष्मण हेरेर अर्को सातादेखि मात्र जाने गरि निर्णय भएको छ ।’