धरान: धरान १७ स्थित ‘रेल्वे युथ क्लब’ले ‘कोभिड १९ राहत कोष’ स्थापना गरेका छन् । 

क्लबका पदाधिकारी तथा सदस्यहरुले लकडाउनको कारण समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्ने गरि कोभिड १९ राहत कोष स्थापना गरेका हुन् । उनीहरुले आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुर परिवारलाई लक्षित गरेर कोष सथपना गरेको जनाएका छन् । राहत कोषका संयोजक एवं कांग्रेस धरानका युवा नेता नरसिंह राईले कोषमा ४३ हजार ६ सय ८० रुपैयाँ जम्मा भएको जानकारी दिए । 

विषम् परिस्थितिमा १७ नं.वडाभित्र रहेका अति विपन्न, गरिब, दैनिक ज्यालादारी काम गरेर खाने मजदुरहरुका लागि खाद्यान्न, औषधी, फ्रि ऐम्बुलेन्स सेवा उपलब्ध गराउने उदेश्यले ‘रेल्वे युथ क्लब’ले राहत कोष स्थापना गरेको उनले बताए । संयोजक राईले वडाभित्र लकडाउनका कारण समस्या परेका परिवार तथा व्यक्तिहरुलाई क्लबका पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क गर्न आग्रहसमेत गरेका छन् । साथै यस अभियानमा जोडिन धरान १७ बासीलाई उनको आह्वान छ ।